कांग्रेसको वडा अधिवेशन आज पनि जारी, आइतबारसम्म ६ हजार १३२ वडामा सम्पन्न

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज सोमबार पनि जारी रहने भएको छ। अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाका वडाहरूमा निर्वाचन प्रक्रिया अघि बढाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार सप्तरीका निर्वाचन क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङको निर्वाचन क्षेत्र नम्बर ६, रौतहटको निर्वाचन क्षेत्र नम्बर १, सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ तथा परासीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत अधिवेशन हुन बाँकी वडाहरूमा आज अधिवेशन हुनेछ।
कांग्रेसले आइतबारसम्म देशभरका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज १ गतेदेखि वडा अधिवेशन शुरु भएको थियो। निर्धारित प्रक्रियाअनुसार बाँकी वडामा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।
यसैबीच, बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन। ती जिल्लामा अधिवेशन सञ्चालन गर्ने नयाँ मितिबारे उपलब्ध विवरणमा उल्लेख गरिएको छैन।





