दोभान बजार आगलागीमा १४ करोड ५६ लाख रुपैयाँ क्षति, १५ परिवार विस्थापित

ड्रागन मिडिया सम्वाददाता
ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ। आगलागीमा आठ घर पूर्ण रूपमा नष्ट र दुई घरमा आंशिक क्षति पुगेको छ। घरधनी र भाडामा बस्ने गरी १५ परिवार विस्थापित भएको प्रहरीको भनाइ छ।
मेरिङदेन गाउँपालिका–३ स्थित बजारमा दिउँसो करिब एक बजे आगो लागेको थियो। घरसँगै किराना, कपडा, मासु तथा सुनचाँदी पसलका सामान, भाँडावर्तन र अलैँची जलेका छन्। केही व्यवसायीले नगदसमेत जलेको बताएका छन्। विस्थापित परिवार आफन्तकोमा बसिरहेको स्थानीय व्यवसायीलाई उद्धृत गर्दै कान्तिपुरले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय लाक्पाचुङ शेर्पाको घरमा विद्युत् चुहावट भएपछि आगलागी सुरु भएको हो। क्षतिको विस्तृत मूल्याङ्कन र आगलागीको कारणबारे थप अनुसन्धानपछि विवरण स्पष्ट हुनेछ। मानवीय क्षतिको सूचना प्रहरीले दिएको छैन।
दोभान बजारमा २०७७ फागुन १८ गते पनि ठूलो आगलागी भएको थियो। त्यसबेला ४९ घर जलेका र ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण छ। फुङ्लिङपछिको ताप्लेजुङको प्रमुख व्यापारिक बजारमध्येको एक दोभानमा पुनः आगलागी हुँदा प्रभावित परिवार र व्यवसायीले ठूलो क्षति बेहोरेका छन्।





