२५ कार्तिक २०८३, मंगलवार

चीन–ब्राजिल सम्बन्ध दक्षिणी विश्वको एकता र सहकार्यको नमुना : सर्वेक्षण

ड्रागन मिडिया समाचार कक्ष

चीनमा गरिएको जनमत सर्वेक्षणले चीन र ब्राजिलबीचको सम्बन्धलाई दक्षिणी विश्वका मुलुकबीचको एकता र सहकार्यको उदाहरणका रूपमा हेर्ने धारणा बलियो रहेको देखाएको छ। अधिकांश उत्तरदाताले ब्राजिललाई चीनको मित्रराष्ट्र वा रणनीतिक साझेदारका रूपमा लिएका छन् र दुई देशबीच थप सहकार्यको अपेक्षा गरेका छन्।

ग्लोबल टाइम्स इन्स्टिच्युटले ‘चिनियाँ जनताको दृष्टिमा ब्राजिल’ शीर्षकमा गरेको सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी उत्तरदाताको ब्राजिलप्रति सकारात्मक वा तटस्थ धारणा छ। ६१ प्रतिशतले ब्राजिलप्रति स्पष्ट रूपमा अनुकूल धारणा व्यक्त गरेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतभन्दा बढीले ब्राजिलबारे केही न केही जानकारी रहेको बताएका छन्। तीमध्ये ३५ प्रतिशतले आफूलाई ब्राजिलबारे ‘राम्रो’ वा ‘धेरै राम्रो’ जानकारी भएको बताएका छन्।

ब्राजिलको नाम सुन्दा ७३ प्रतिशत उत्तरदातालाई सबैभन्दा पहिले फुटबल सम्झना आएको थियो। त्यसपछि ४४ प्रतिशतले कृषि उत्पादन र खाद्यवस्तु उल्लेख गरेका थिए। दुई देशबीचको सम्बन्धलाई ७० प्रतिशतभन्दा बढीले ‘धेरै राम्रो’ वा ‘राम्रो’ मानेका छन् भने ६६ प्रतिशतले ब्राजिललाई मित्रराष्ट्र वा रणनीतिक साझेदारका रूपमा हेरेका छन्। ९० प्रतिशतभन्दा बढीले चीनको भविष्यको विकासका लागि चीन–ब्राजिल मैत्रीपूर्ण सम्बन्ध महत्त्वपूर्ण रहेको बताएका छन्। दुई देशको सम्बन्धको भविष्यप्रति ७० प्रतिशतभन्दा बढी उत्तरदाता आशावादी देखिएका छन्।

अगस्ट ६ देखि २० सम्म गरिएको सर्वेक्षणमा चीनका ३१ प्रान्तस्तरीय क्षेत्रका १८ देखि ६९ वर्ष उमेर समूहका २ हजार १२४ जनाले भाग लिएका थिए। व्यावसायिक बजार अनुसन्धान संस्था डेटा १०० को सहयोगमा सङ्कलन गरिएका उत्तरलाई चीनका इन्टरनेट प्रयोगकर्ताको उमेर र लैङ्गिक संरचनाका आधारमा समायोजन गरिएको थियो।

चीन र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५२औँ वर्ष तथा चीन–ब्राजिल सांस्कृतिक वर्षका अवसरमा सार्वजनिक गरिएको सर्वेक्षणले व्यापार, लगानी, कृषि तथा खाद्य आपूर्ति, पर्यटन र जनस्तरको आदानप्रदानलाई सहकार्यका प्रमुख क्षेत्र मानेको छ। सम्भावित सहकार्यका क्षेत्रमा कृषि उत्पादन तथा खाद्य आपूर्ति शृङ्खलालाई ७२ प्रतिशत, व्यापार तथा लगानीलाई ७० प्रतिशत र पर्यटन तथा जनस्तरको आदानप्रदानलाई ६९ प्रतिशतले महत्त्वपूर्ण मानेका छन्।

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत ल्याटिन अमेरिकी अध्ययन संस्थाका अनुसन्धानकर्ता वाङ पेङले दुई देशबीचको व्यापार, ब्राजिलको राष्ट्रिय छवि र ब्रिक्समा रहेको साझा सदस्यताले चिनियाँ जनताको ब्राजिलप्रतिको सकारात्मक धारणा निर्माण गर्न योगदान गरेको बताए। उनका अनुसार ब्राजिलले दक्षिणी विश्वका हितका पक्षमा आवाज उठाउँदै आएको छ र दुवै देशले दक्षिणी विश्वको प्रभाव विस्तारमा सहकार्य गरिरहेका छन्।

चीनको अन्तर्राष्ट्रिय अध्ययन संस्थानकी अनुसन्धानकर्ता सोङ जुनयिङले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको पुनर्निर्वाचनपछि ब्राजिलको चीन नीतिमा स्थिरता रहने र चीन–ब्राजिल सम्बन्ध निरन्तर अघि बढ्ने अपेक्षा व्यक्त गरिन्। उनका अनुसार यसले चीन र ल्याटिन अमेरिकाबीचको व्यापक सहकार्यका लागि पनि बलियो आधार प्रदान गर्नेछ।

कूटनीतिक सम्बन्ध स्थापनापछि पाँच दशकभन्दा लामो अवधिमा चीन र ब्राजिलले विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्। सर्वेक्षणमा ९० प्रतिशतभन्दा बढी उत्तरदाताले दुई देशबीचको सहकार्यका उपलब्धिलाई स्वीकार गरेका छन्। ७० प्रतिशतले सहकार्यलाई ‘धेरै प्रभावकारी’ वा ‘प्रभावकारी’ मानेका छन्।

चिनियाँ कम्पनीहरूले ब्राजिलमा ऊर्जा, पूर्वाधार र विद्युतीय सवारी उत्पादन क्षेत्रमा काम गरिरहेका छन्। चीनको स्टेट ग्रिड कर्पोरेसनले उच्च क्षमताको विद्युत् प्रसारण प्रविधि प्रयोग गरी जलविद्युत् आयोजनालाई दक्षिणपूर्वी तटीय सहरसँग जोड्ने प्रसारण सञ्जाल निर्माणमा सहयोग गरेको छ। चीन थ्री गर्जेज कर्पोरेसनले ब्राजिलका विभिन्न जलविद्युत् आयोजनाको सञ्चालनमा भाग लिएको छ।

चिनियाँ कम्पनीहरूद्वारा निर्माण भइरहेको साल्भाडोर–इटापारिका समुद्री पुल ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो समुद्री पुल बन्ने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएपछि दुई स्थानबीचको यात्रा अवधि १५ मिनेटमा झर्नेछ। चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले पनि ब्राजिलमा उत्पादन केन्द्रमा लगानी गरेको छ।

जनस्तरको सम्बन्ध विस्तारप्रति उत्तरदाताको रुचि पनि उच्च देखिएको छ। ९७ प्रतिशतले चीन र ब्राजिलबीच सांस्कृतिक तथा जनस्तरको आदानप्रदान थप बढेको हेर्न चाहेका छन्। चीनमा आयोजना हुने ब्राजिलका सांस्कृतिक प्रदर्शनी, पर्यटन प्रवर्द्धन कार्यक्रम र चलचित्र सप्ताहमा सहभागी हुने रुचि पनि उल्लेख्य छ।

मे ११ देखि डिसेम्बर ३१ सम्म ब्राजिलले साधारण राहदानी भएका चिनियाँ नागरिकलाई प्रवेशाज्ञा नचाहिने व्यवस्था लागू गरेको छ। सर्वेक्षणमा ९० प्रतिशत उत्तरदाताले अवसर मिलेमा पर्यटन, अध्ययन वा व्यवसायका लागि ब्राजिल जान इच्छुक रहेको बताएका छन्। चिनियाँ भाषामा सहज सेवा र भुक्तानीका सुविधाहरू उपलब्ध भए ब्राजिल भ्रमण गर्ने इच्छा बढ्ने उत्तरदाता ८० प्रतिशतभन्दा बढी छन्। ब्राजिलका नागरिक चीन भ्रमणमा आउने कुरालाई समर्थन गर्ने उत्तरदाता करिब ८० प्रतिशत छन्।

सर्वेक्षणले ब्राजिलको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रभावप्रति चिनियाँ जनताको बुझाइ पनि देखाएको छ। करिब ९० प्रतिशत उत्तरदाताले ब्राजिलको कम्तीमा एउटा अन्तर्राष्ट्रिय भूमिका वा सदस्यता सही रूपमा पहिचान गरेका छन्। ब्रिक्स सदस्यका रूपमा ब्राजिलको भूमिका सबैभन्दा बढी चिनिएको थियो भने त्यसपछि समूह बीसको सदस्यताबारे जानकारी थियो। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र र ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रहरूको समुदायको सदस्यका रूपमा ब्राजिलको क्षेत्रीय प्रभावलाई ६३ प्रतिशतले ‘धेरै’ वा ‘उल्लेख्य’ मानेका छन्। जलवायु परिवर्तन र वातावरण संरक्षणजस्ता विषयमा ब्राजिलको भूमिकालाई ८६ प्रतिशतले महत्त्वपूर्ण ठानेका छन्।

चीन र ब्राजिल दुवै ब्रिक्स तथा समूह बीसका सदस्य हुन्। दुवै देशले संयुक्त राष्ट्रसङ्घको भूमिकालाई सुदृढ गर्ने र विश्वव्यापी शासन व्यवस्थामा सुधार ल्याउने विषयमा साझा धारणा राख्दै आएका छन्। आगामी वर्षहरूमा दुई देशले साझा भविष्य भएको चीन–ब्राजिल समुदाय निर्माणलाई अघि बढाउँदै क्षेत्रीय मामिला र विश्वव्यापी शासनबारे संवाद जारी राख्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button