चाडपर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछन् : अध्यक्ष दाहाल

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता चाडपर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मान बढाउँदै राष्ट्रिय एकता सुदृढ बनाउन योगदान पुर्याएको बताएका छन्।
तिहार, नेपाल संवत्, छठलगायत सांस्कृतिक पर्वका अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्न तथा चाडपर्वलाई वातावरणमैत्री, मर्यादित र मितव्ययी रूपमा मनाउन आमनागरिकलाई आग्रह गरेका छन्।
नेपालका धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई अमूल्य राष्ट्रिय सम्पदाका रूपमा उल्लेख गर्दै उनले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताए।
तिहारले प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्ध उजागर गर्ने अध्यक्ष दाहालको भनाइ छ। काग, कुकुर, गाई र गोरुको पूजा तथा भाइटीकाको परम्पराले जीवजन्तुप्रति सम्मान, कृतज्ञता र प्रेम प्रकट गर्नुका साथै पारिवारिक सम्बन्धको महत्त्वलाई स्मरण गराउने उनले बताए।
दीपावलीले अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने उल्लेख गर्दै अध्यक्ष दाहालले देउसीभैलो, दीप प्रज्वलन र आपसी सद्भावले सामाजिक तथा सांस्कृतिक एकतालाई थप बलियो बनाउने बताए।
उनले तिहार, नेपाल संवत् र छठले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।





