कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, हिमाली जोखिमबारे विश्वको ध्यानाकर्षण

ड्रागन मिडिया समाचार कक्ष
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ। पेभिलियनमा नेपालको जलवायु प्राथमिकता प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे विश्वको ध्यानाकर्षण गराइएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले पेभिलियन उद्घाटन गरे। त्यहाँ जैविक विविधता संरक्षणका उपलब्धि र समुदायस्तरमा सञ्चालन गरिएका जलवायु अनुकूलनका पहल प्रस्तुत गरिएको छ।
उद्घाटन समारोहमा मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे चर्चा गरे। हिमनदी र हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै उनले हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’ भने। जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका नेपालजस्ता मुलुकले असमानुपातिक रूपमा बढी असर भोग्नुपरेको उनको भनाइ थियो।
जलवायु न्याय अघि बढाउन, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज बनाउन, हिमाली क्षेत्रमा उत्थानशीलता बढाउन र तल्लो तटीय क्षेत्रको संरक्षण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको मन्त्री खनालले बताए। उनले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्याए।
पेभिलियन उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत प्रतिनिधिले पनि सम्बोधन गरे।
मन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी भए। सम्मेलनको अध्यक्षता टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले गरेका छन् भने वार्ता प्रक्रियाको अध्यक्षता अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले सम्हालेका छन्।
सम्मेलनका क्रममा मन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग भेटवार्ता गरे। हालैका जलवायुजन्य विपद्पछि इथियोपिया सरकार र जनताले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताप्रति उनले आभार व्यक्त गरे।
कोप–३१ र इथियोपियाको आगामी सम्मेलन अध्यक्षताका क्रममा समानता, साझा वातावरणीय जिम्मेवारी र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको मन्त्री खनालले बताए।
भेटमा दुवै मन्त्रीले जलवायु परिवर्तन, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति प्रक्रियाको दिगोपन, व्यापार, हवाई सम्पर्क, पर्यटन र जनस्तरको सम्बन्धबारे विचार आदानप्रदान गरे। उनीहरूले नेपाल–इथियोपिया मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि छलफल गरे।





