९ आश्विन २०८३, शुक्रबार

मनाङको माथिल्लो क्षेत्रमा हिमपात, आइतबारसम्म उच्च हिमाली पदयात्रा रोकियो

ड्रागन मिडिया सम्वाददाता

मनाङको माथिल्लो क्षेत्रमा शुक्रबार बिहानदेखि वर्षासँगै हिमपात भएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक लगाएको छ। तिलिचो ताल, थोरङ्ला, आइस लेक, काङ्ला र भीमथाङतर्फ जाने पदयात्रीलाई अगाडि नबढ्न तथा यात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार समुद्री सतहबाट करिब तीन हजार ३०० मिटर उचाइमा रहेको हुम्डेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ। नार्पा भूमि गाउँपालिकाका बस्तीमा पनि हिमपात भएको जानकारी प्राप्त भएको उनले बताए। तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मनाङस्थित इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उच्च क्षेत्रमा बिहान करिब सात बजेदेखि पालैपालो पानी र हिउँ परिरहेको छ। डाँडाकाँडामा हिउँ देखिए पनि बस्ती र बाटोमा धेरै थुप्रिएको छैन। हिमपातसँगै चिसो बढेको छ।

प्रशासनका अनुसार पदयात्राका लागि निस्किएका पर्यटकलाई उच्च क्षेत्रमा जान रोकिएको छ। मौसमको अवस्था हेरेर मात्र यात्रा अघि बढाउन र प्रशासनका पछिल्ला सूचना पालना गर्न पदयात्रीलाई आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button