निरन्तर वर्षाले नदीको बहाव बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

ड्रागन मिडिया सम्वाददाता
तीन दिनदेखि जारी वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव बढेको छ भने बाढी, पहिरो र हिमपातले जनजीवन प्रभावित भएको छ। शुक्रबार दिउँसो दुई बजेको मापनमा सप्तकोशी नदीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लामा बाढीको जोखिममा रहेका १४ परिवारलाई जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। काभ्रेको पनौती नगरपालिका–८ बन्जारा गाउँमा वर्षाले दुई घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। संखुवासभाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाको पानी मोड्ने सुरुङबाट पानी बाहिर निस्केर अस्थायी बाँधसमेत पार गरेपछि आसपासमा सतर्कता बढाइएको छ।
गुल्मीका भार्से र रिडीमा पछिल्लो २४ घण्टामा क्रमशः १०९.६ र १०९.२ मिलिमिटर वर्षा मापन भएको छ। कालीगण्डकी गाउँपालिकाको पातीखोलामा सडक अवरुद्ध छ। जिल्लाभर अत्यावश्यकबाहेकका सवारीलाई राति यात्रा नगर्न प्रशासनले भनेको छ। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडकमा शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म अत्यावश्यक र विपदसम्बन्धी सवारीबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ।
गोरखाको साम्दोमा शुक्रबार बिहान हिमपात भएपछि चिसो बढेको छ। मनाङको माथिल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ। प्रतिकूल मौसमका कारण मनास्लु क्षेत्रको पदयात्रा अर्को सूचना नभएसम्म र मनाङका उच्च हिमाली मार्गमा आइतबारसम्म पदयात्रा रोकिएको छ। जाजरकोटका उच्च पाटनमा हिउँ परेपछि पशुचौपाया तल्लो क्षेत्रमा सार्न थालिएको छ।
यसअघि मकवानपुरको सिमात खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको थियो। रोशीको बाढीले बीपी राजमार्गका दुई स्थानका अस्थायी मार्ग बगाएको छ भने पहिरो र सडक भासिने घटनाले अन्य सडकमा पनि यातायात प्रभावित छ। यात्राअघि सम्बन्धित प्रशासनबाट सडकको पछिल्लो अवस्था बुझ्न र बढ्दो बहाव भएका नदी किनारमा नजान अधिकारीहरूले आग्रह गरेका छन्।





