९ आश्विन २०८३, शुक्रबार

भारतको धौलीगङ्गा बाँध खोलिने, महाकाली किनारमा सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता

भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिने भएपछि नेपाली प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाँधबाट पानी छाड्दा नदीको बहाव बढ्न सक्ने भएकाले उक्त अवधिमा किनारतर्फ नजान बैतडी प्रशासनले अनुरोध गरेको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार भारतीय आयोजनाले बालुवा र लेदो सफा गर्न आइतबार मध्यरातदेखि सोमबार बिहान १० बजेसम्म बाँध खोल्ने जानकारी दिएको छ। आयोजनाको पत्र प्राप्त भएपछि महाकाली किनारसँग जोडिएका स्थानीय तहलाई पनि बासिन्दासम्म सावधानीको सूचना पुर्‍याउन भनिएको छ।

महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरको सीमाक्षेत्र हुँदै बग्छ। बाँध खोलिने अवधिमा ती जिल्लाका तटीय बस्तीमा नदीको अवस्था हेरेर सतर्कता अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ। धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध यसअघि साउन १३ गते पनि सफाइका लागि खोलिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button