कुलेखानी जलाशयको सतह नियन्त्रण गर्न पूर्ण क्षमतामा विद्युत उत्पादन

ड्रागन मिडिया सम्वाददाता
निरन्तर वर्षाका कारण जलाशयमा पानी थपिँदै गएपछि मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। पानीको अधिकतम उपयोग गरेर जलाशयको सतह तीव्र रूपमा बढ्न नदिन तीनवटै विद्युत केन्द्र सञ्चालन गरिएको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतले बताएका छन्।
राउतका अनुसार हाल जलाशयको पानीको सतह समुद्री सतहबाट एक हजार ५२२.७५ मिटर उचाइमा छ। कुलेखानीका पहिलो, दोस्रो र तेस्रो विद्युत केन्द्रबाट क्रमशः ६०, ३२ र १४ मेगावाट उत्पादन भइरहेको छ। तीनवटै केन्द्रको कुल उत्पादन १०६ मेगावाट पुगेको छ।
जलाशयको सतह एक हजार ५२७ मिटर पुगेमा सम्भावित जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन साइरन बजाउने व्यवस्था रहेको राउतले जानकारी दिए। वर्षा जारी रहेकाले जलाशयको सतह निरन्तर निगरानीमा राखिएको छ। साइरन बजेमा नदी किनार छाडेर सुरक्षित अग्लो स्थानमा जान स्थानीय बासिन्दालाई आयोजनाले आग्रह गरेको छ।





