चीनबाट दुई पाण्डा अमेरिका पठाइने, एटलान्टा चिडियाखानामा राखिने

ड्रागन मिडिया समाचार कक्ष
चीनले संरक्षणसम्बन्धी सहकार्यअन्तर्गत पिङ पिङ र फु श्वाङ नामका दुई विशाल पाण्डा अमेरिकाको एटलान्टा चिडियाखानामा पठाउने भएको छ। अमेरिकाको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार ह्वाइट हाउसमा आयोजित स्वागत समारोहमा पाण्डाहरू केही दिनभित्र त्यहाँ पुग्ने बताएका हुन्।
सिन्ह्वाका अनुसार चीनको वन्यजन्तु संरक्षण संघ र एटलान्टा चिडियाखानाबीच गत वर्ष भएको सम्झौताअन्तर्गत दश वर्षको संरक्षण सहकार्य कार्यक्रम सञ्चालन हुनेछ। भाले पिङ पिङ र पोथी फु श्वाङ सिचुवान प्रान्तको छेन्दुस्थित विशाल पाण्डा प्रजनन अनुसन्धान केन्द्रबाट अमेरिका पठाइनेछन्। चिनियाँ विज्ञहरूको प्राविधिक सहयोगमा चिडियाखानाले उनीहरूका लागि आवासीय स्थल सुधार गरेको जनाइएको छ।
चीन र अमेरिकाबीच पाण्डा संरक्षणमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणपछि लिङ लिङ र सिङ सिङ नामका दुई पाण्डा अमेरिका पुगेका थिए। सन् १९९४ मा चिनियाँ वन्यजन्तु संरक्षण संघ र सान डिएगो चिडियाखानाबीच भएको सम्झौतापछि संरक्षण तथा अनुसन्धानमा औपचारिक सहकार्य अघि बढेको थियो।
दुई देशका संस्थाहरूले पाण्डाको व्यवहार, आहार, वंशाणु, प्रजनन र रोग रोकथामका विषयमा संयुक्त अनुसन्धान गरेका छन्। नयाँ कार्यक्रमले पनि संरक्षणसम्बन्धी अनुसन्धान र प्राविधिक आदानप्रदानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।





