१० आश्विन २०८३, शनिबार

झापामा बाढीको निगरानी गर्न ड्रोन, एक हजारभन्दा बढी परिवार जोखिममा

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षापछि बाढी र डुबानको जोखिम बढेपछि झापामा ड्रोनबाट नदी, तटबन्ध र बस्तीको निगरानी शुरु गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले डिभिजन वन कार्यालयसँग समन्वय गरी शुक्रबारदेखि ड्रोन प्रयोग थालेको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जोखिमको सूचना छिटो सङ्कलन गरी आवश्यक स्थानमा उद्धार टोली खटाउन यो प्रविधि प्रयोग गरिएको छ।

जिल्ला प्रशासनका अनुसार गौरीगञ्ज गाउँपालिकाका वडा १ र २ का ४७४ परिवार तथा झापा गाउँपालिकाका वडा १ र २ का ६९५ परिवार गरी कुल एक हजार १६९ परिवार डुबानको जोखिममा छन्। निगरानीमा नदी र खोलाको बहाव, पुल, कमजोर तटबन्ध तथा डुबान हुन सक्ने बस्तीलाई प्राथमिकता दिइएको छ।

शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि साइरन बजाएर स्थानीयलाई सतर्क गराइएको थियो। साँझसम्म पानीको सतह केही घटे पनि प्रशासनले सतर्कता कायम राख्न आग्रह गरेको छ। इलाममा परेको ठूलो वर्षापछिको बाढी करिब तीन घण्टामा झापा आइपुग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा पूर्वचेतावनी प्रणाली र साइरनबाट सूचना पुर्‍याउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

सम्भावित उद्धारका लागि जिल्लामा नौवटा डुङ्गा, नेपाली सेनाका चारवटा द्रुत प्रतिकार्य टोली र सशस्त्र प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button