वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै, चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
ड्रागन मिडिया सम्वाददाता
वर्षा गराउने मौसमी प्रणालीको प्रभाव पश्चिमतर्फ बढ्दै जाँदा शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुन सक्छ। देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशका अधिकांश भागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा वा हिमपात हुन सक्छ। मधेशसहित अन्य प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्छ।
शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन भएको छ।
भारतको उत्तर महाराष्ट्र र छत्तिसगढ आसपास रहेको न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुन सक्ने महाशाखाको आकलन छ। वर्षा, चट्याङ, हावाहुरी, बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई मौसम तथा स्थानीय प्रशासनको पछिल्लो सूचना हेरेर सावधानी अपनाउन आग्रह गरिएको छ।





