ग्रिड जडानसम्बन्धी मस्यौदामा इप्पानका १९ संशोधन प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, इप्पानले विद्युत आयोजनाको ग्रिड जडान बिन्दु र भोल्टेज स्तर परिवर्तनसम्बन्धी प्रस्तावित कार्यविधिमा १९ वटा संशोधन सुझाएको छ। मस्यौदाका केही व्यवस्थाले प्रसारण पूर्वाधार निर्माणमा हुने ढिलाइ र त्यसको आर्थिक जोखिमसमेत उत्पादकमाथि पार्न सक्ने इप्पानको तर्क छ।
इप्पानले जडान बिन्दु परिवर्तन गर्नुअघि आयोजनाको कम्तीमा ३० प्रतिशत निर्माण पूरा भएको हुनुपर्ने प्रस्तावित शर्त हटाउन माग गरेको छ। प्रसारण लाइन वा सबस्टेसन निर्माणमा सम्बन्धित निकायकै ढिलाइका कारण जडान बिन्दु बदल्नुपर्दा उत्पादकलाई पहिले निर्माण गर्न बाध्य पार्नु उचित नहुने उसको भनाइ छ। प्राविधिक आवश्यकता वा विपदका कारण एकभन्दा बढी पटक जडान बिन्दु परिवर्तन गर्न सकिने व्यवस्था पनि इप्पानले मागेको छ।
प्रसारण पूर्वाधार समयमै नबन्दा आयोजना ग्रिडमा जोडिन ढिलाइ भए व्यावसायिक विद्युत उत्पादनको मिति समायोजन गर्नुपर्ने इप्पानको प्रस्ताव छ। यस्तो ढिलाइबाट हुने क्षतिका लागि करारअनुसार राहत वा क्षतिपूर्तिको व्यवस्था गर्न र प्राधिकरणको योजनाका कारण जडान बिन्दु फेरिँदा आयोजनाले पाएको पुरानो प्राथमिकता कायम राख्न पनि उसले आग्रह गरेको छ।
इप्पानले प्रत्येक भोल्टेज रूपान्तरणमा ऊर्जा मापनको एक प्रतिशतलाई ट्रान्सफर्मर चुहावट मान्ने प्रस्तावित व्यवस्था पुनर्विचार गर्न भनेको छ। चुहावट वास्तविक परीक्षण र प्राविधिक प्रमाणका आधारमा निर्धारण हुनुपर्ने तथा साझा प्रसारण प्रणालीको सम्पूर्ण चुहावट एउटै आयोजनालाई नथोपर्नुपर्ने उसको सुझाव छ। ग्रिडमा उल्लेखनीय प्रभाव नपर्ने सामान्य परिवर्तनका लागि फेरि ग्रिड प्रभाव अध्ययन अनिवार्य नगर्न पनि इप्पानले माग गरेको छ।
इप्पानका पदाधिकारीसँगको छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुझाव पुनः अध्ययन गर्ने बताएका छन्। आवश्यक परे उत्पादकका प्रतिनिधिसँग संयुक्त छलफल गर्ने उनको भनाइ छ। उनले दश मेगावाटसम्मका आयोजनाको विद्युत खरिद सम्झौता खोल्ने प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पुगेको र त्यसबारे गठित समितिको प्रतिवेदनपछि प्रक्रिया अघि बढ्ने जानकारी दिए। कार्यविधिको अन्तिम रूप र इप्पानका सुझावबारे निर्णय हुन बाँकी छ।





