जलवायु जोखिमलाई हिमालदेखि समुद्रसम्म जोडेर हेर्न नेपालको आग्रह

ड्रागन मिडिया सम्वाददाता
नेपालले जलवायु परिवर्तनका कारण हिमाल, नदी र समुद्रमा देखिएका जोखिमलाई एउटै प्रणालीका रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रभाव राजनीतिक सीमाभित्र नरोकिने भएकाले हिमाली, तटीय र द्वीपीय देशबीच साझा प्रयास आवश्यक रहेको बताए।
अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको सन्दर्भ उठाउँदै खनालले जलवायु जोखिमका लागि पूर्वचेतावनी, उत्थानशील पूर्वाधार र समयमै उपलब्ध हुने वित्त आवश्यक भएको बताए। कार्यक्रममा बाढीको प्रभाव देखाउने छोटो दृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो। कार्यक्रम आयोजनामा भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तानसहित राष्ट्रसङ्घीय निकायले नेपालसँग सहकार्य गरेका थिए।
खनालले जलवायु विज्ञान, नीति र लगानीमा हिमालदेखि समुद्रसम्मको पारिस्थितिक सम्बन्धलाई स्थान दिन तथा अन्तर्राष्ट्रिय जलवायु प्रक्रियामा हिमाली विषयलाई व्यवस्थित रूपमा समेट्न आग्रह गरे। उनले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रयास, उत्सर्जन कटौती र जीवाश्म इन्धनबाट संक्रमणका सहमति कार्यान्वयनमा जोड दिए। पूर्वचेतावनी प्रणाली, वैज्ञानिक सहकार्य तथा विकासशील देशका लागि पहुँचयोग्य जलवायु वित्त र हानि तथा क्षतिसम्बन्धी कोषलाई प्रभावकारी बनाउनु पनि उनका प्रस्तावमा थिए।
नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणालाई ज्ञान आदानप्रदान र व्यावहारिक सहकार्यको मञ्चका रूपमा अघि बढाउन चाहेको खनालले बताए। हिमालमा हुने परिवर्तनले तल्लो तटीय समुदायसम्म प्रभाव पार्ने भएकाले जोखिमको अध्ययन र त्यसको सामना गर्ने प्रयासलाई पनि जोड्नुपर्ने उनको भनाइ थियो।





