डोल्पामा वर्षासँगै खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ खलवलगाडामा वर्षासँगै भिरबाट खसेको ढुङ्गा लागेर ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति करिब पौने दश बजे बगरहेराल खोलानजिक त्रिपालले बनाइएको गोठमा सुतिरहेका बेला उनलाई ढुङ्गाले लागेको थियो।
टाउको र छातीमा चोट लागेका केसीको उपचारका लागि लिकु स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोठमा सँगै सुतेका ३८ वर्षीय चन्द्ररूप केसीको ढाडमा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।
शनिबार बिहान घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। लगातारको वर्षाले भिरालो क्षेत्रमा ढुङ्गा खस्ने जोखिम बढाएको छ।





