१० आश्विन २०८३, शनिबार

ताक्लाकोट सीमा बैठकमा हिमताल अध्ययन र विपद सूचना आदानप्रदान गर्ने सहमति

ड्रागन मिडिया सम्वाददाता

चीनको सिचाङस्थित पुलान काउन्टी र नेपालका सीमावर्ती जिल्लाका अधिकारीबीच हिमतालको अवस्था अध्ययन तथा विपद र सीमा सुरक्षासम्बन्धी सूचना नियमित आदानप्रदान गर्ने सहमति भएको छ। पुलानको ताक्लाकोटमा भएको सीमा बैठकमा दुवै पक्षले प्राकृतिक विपदका बेला तत्काल सम्पर्क र समन्वय गर्न साझा सञ्चार समूह पनि बनाएका छन्।

बैठकमा सहभागी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार हिमताल फुट्ने, बाढीपहिरो र हिमपहिरोजस्ता जोखिमबारे समयमै सूचना साझा गर्ने विषयमा सहमति भएको हो। बैठकमा परम्परागत व्यापार, सांस्कृतिक सम्बन्ध र सीमा क्षेत्रमा नागरिकको आवतजावतसम्बन्धी समस्या पनि उठाइएको थियो।

नेपाली पक्षले सीमावर्ती जिल्लाका बासिन्दालाई एउटा नाकाबाट प्रवेश गरेपछि त्यही नाकाबाट फर्किनुपर्ने व्यवस्था सहज बनाउन आग्रह गरेको छ। मानसरोवरको जल ल्याउने धार्मिक प्रयोजनका लागि प्रवेश अनुमति दिन र बझाङको उरै नाका सञ्चालनमा ल्याउन पनि प्रस्ताव गरेको छ। यी प्रस्तावबारे चिनियाँ पक्षले छलफल गर्ने बताएको कान्तिपुरले केशरीलाई उद्धृत गर्दै जनाएको छ।

बैठककै अवसरमा हुम्लाको नाम्खा गाउँपालिका र पुलान काउन्टीबीच भगिनी सम्बन्ध स्थापना भएको छ। साइपाल गाउँपालिका र पुलानबीच पनि आगामी वर्ष त्यस्तो सम्बन्ध अघि बढाउने विषयमा छलफल भएको साइपालका अध्यक्ष मानविर बोहराले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button