श्रीलंकाको मिर्गौला अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, सात कर्मचारी घाइते

ड्रागन मिडिया समाचार कक्ष
श्रीलंकाको पोलोन्नरुवास्थित मिर्गौला अस्पतालको भान्सामा शनिबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा सात कर्मचारी घाइते भएका छन्। प्रहरीका अनुसार घटना बिहान करिब चार बजे भएको हो।
घाइतेलाई उपचारका लागि पोलोन्नरुवा अस्पताल भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ। विस्फोटबाट अस्पताल भवनमा पनि क्षति पुगेको छ।
घटनामा उपचाररत बिरामी र अन्य स्वास्थ्यकर्मी घाइते भएका छैनन्। विस्फोटपछि कर्मचारीले बिरामीलाई भवनबाट सुरक्षित बाहिर निकालेका थिए। थप उपचार आवश्यक भएका बिरामीलाई पोलोन्नरुवा जनरल अस्पताल स्थानान्तरण गरिएको छ।





