अजरबैजानको रक्षा प्रदर्शनीमा जे–१०सीई, चिनियाँ लडाकु विमानप्रति क्षेत्रीय चासो बढेको विज्ञको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
चीनको जे–१०सीई लडाकु विमान अजरबैजानमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनीमा प्रदर्शन गरिएको छ। चिनियाँ सैन्य मामिलाका विज्ञ झाङ जुनशेले यसको उपस्थितिले क्षेत्रमा चिनियाँ हवाई उपकरण र हवाई युद्ध प्रणालीप्रति बढ्दो चासो देखाएको बताएका छन्। तर अजरबैजानले जे–१०सीई खरिद गर्ने कुनै सम्झौता पुष्टि भएको छैन।
सेप्टेम्बर ३० मा बाकु एक्स्पो सेन्टरमा शुरु भएको एडेक्स–२०२६ प्रदर्शनीमा जे–१०सीईसहित एल–१५ए उन्नत प्रशिक्षण विमान, वाई–२० यातायात विमान, जेड–२० हेलिकप्टर र विङ लुङ मानवरहित विमानका श्रृंखला राखिएका छन्। चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसनको प्रतिनिधित्व गर्दै चाइना नेसनल एरो–टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्ट कर्पोरेसनले उड्डयन उपकरणसहित पहिलोपटक प्रदर्शनीमा सहभागिता जनाएको ग्लोबल टाइम्सले जनाएको छ। एभिकले सार्वजनिक गरेको तस्बिरमा अजरबैजानको राष्ट्रिय झण्डासहितको जे–१०सीई नमुना देखिन्छ।
झाङका अनुसार जे–१०सीईको युद्ध क्षमता, विशेषगरी दृश्यसीमाभन्दा परको हवाई युद्ध र हवाई श्रेष्ठता हासिल गर्ने क्षमताले अन्तर्राष्ट्रिय बजारमा यसको आकर्षण बढाएको छ। पीएल–१५ श्रृंखलाका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रसँग संयोजन गर्दा विमानले लामो दूरीमा लक्ष्य पत्ता लगाउने र प्रहार गर्ने क्षमता उपयोग गर्न सक्ने उनले बताए।
अजरबैजानले चीन र पाकिस्तानले संयुक्त रूपमा विकास गरेको जेएफ–१७ ब्लक–३ विमान समावेश गरिसकेको छ। सन् २०२५ नोभेम्बरमा पाँचवटा जेएफ–१७ विमानले अजरबैजानको सैन्य परेडमा हवाई प्रदर्शन गरेका थिए। सन् २०२४ मा पाकिस्तानले अजरबैजानलाई जेएफ–१७ ब्लक–३ बिक्री गर्ने सम्झौता भएको जनाएको थियो।
अजरबैजानले भविष्यमा जे–१०सीई पनि भित्र्याएमा जेएफ–१७ सँगै फरक क्षमताका विमान परिचालन गरेर आफ्नो हवाई युद्ध प्रणालीलाई थप एकीकृत गर्न सक्ने झाङको भनाइ छ। यसले पुराना सोभियतकालीन विमान प्रतिस्थापन र वायुसेनाको आधुनिकीकरणमा सहयोग पुग्न सक्ने उनले बताए।
चिनियाँ लडाकु विमानप्रति अन्य देशको चासो पनि देखिएको छ। अगस्टमा उज्बेकिस्तानको स्वतन्त्रता दिवससम्बन्धी सरकारी प्रसारणमा उज्बेक सैन्य चिह्न भएका जे–१०सीई विमान देखिएका थिए। इन्डोनेसियाका रक्षामन्त्रीले पनि सन् २०२५ अक्टोबरमा चीनबाट जे–१० विमान प्राप्त गर्ने तयारी रहेको बताएका थिए। झाङका अनुसार यी घटनाले चिनियाँ उड्डयन उपकरण र हवाई युद्ध प्रणालीको प्रभाव विस्तार हुँदै गएको देखाउँछन्।





