योनागुनीमा अमेरिकी क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने योजना, ताइवान विषयमा हस्तक्षेपको जोखिम बढ्ने चिनियाँ विज्ञको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
जापान र अमेरिकाले अक्टोबर १९ देखि शुरु गर्ने संयुक्त सैन्य अभ्यासका क्रममा अमेरिकी सेनाले जापानको पश्चिमी छेउको योनागुनी टापुमा पहिलोपटक स्थलमा आधारित जहाजभेदी क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने योजना बनाएको जापानी सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। समाचारअनुसार जापानको आत्मरक्षा बलले पनि त्यहाँ आफ्नै स्थलमा आधारित जहाजभेदी क्षेप्यास्त्र तैनाथ गर्नेछ।
अमेरिकी प्रणालीको नाम नेभी–मरीन एक्सपेडिसनरी सिप इन्टरडिक्शन सिस्टम (एनएमइएसआइएस) हो। एनएचकेका अनुसार यसले १८० किलोमिटरभन्दा बढी दूरीसम्म मार हान्न सक्ने जहाजभेदी क्षेप्यास्त्र दूरनियन्त्रित मानवरहित सवारीमा राखेर परिचालन गर्न सक्छ। जापानी प्रणालीको मारक दूरी १०० किलोमिटरभन्दा बढी रहेको बताइएको छ। दुवै प्रणाली योनागुनीमा तैनाथ गरिने यो पहिलोपटक हुनेछ।
चिनियाँ सैन्य मामिलाका विज्ञ सोङ झोङपिङले ताइवान टापुबाट करिब ११० किलोमिटर टाढा रहेको योनागुनीमा क्षेप्यास्त्र प्रणाली तैनाथ गर्दा चीनको ताइवान विषयमा जापान र अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्ने आशङ्का बढ्ने र गलत आकलनको जोखिम सिर्जना हुने बताएका छन्। द्वन्द्वको अवस्थामा हस्तक्षेपमा संलग्न हुने योनागुनीस्थित सैन्य बल प्रारम्भिक चरणमै निशानामा पर्न सक्ने उनले चेतावनी दिए।
सोङका अनुसार योनागुनीमा प्रणाली तैनाथ हुँदैमा सैन्य लाभ सुनिश्चित हुँदैन। टापुको सीमित आकार र रणनीतिक गहिराइको अभावले युद्धका बेला ती प्रणाली पहिचान र आक्रमणको जोखिममा पर्न सक्ने उनले बताए। चीनको जनमुक्ति सेनासँग निगरानी, पहिचान र सटीक प्रहारका लागि ड्रोनसहितका क्षमता रहेको उल्लेख गर्दै उनले अग्रपङ्क्तिका टापुमा तैनाथ हतियार प्राथमिक निगरानी र प्रहारको निशाना बन्न सक्ने बताए।
समाचारअनुसार मे महिनामा अमेरिका र जापानले ताइवानबाट करिब ११० किलोमिटर टाढा रहेका दक्षिणपश्चिमी नान्सेई टापुमा संयुक्त सैन्य अभ्यास गरेका थिए र संयुक्त कमान्ड केन्द्र स्थापना गरेका थिए। त्यसबेला जापानका रक्षामन्त्रीले क्षेत्रीय प्रतिरोध क्षमता र आपत्कालीन सञ्चालन क्षमता बढाउनु अभ्यासको उद्देश्य रहेको बताएका थिए।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता च्याङ बिनले सम्बन्धित देशबीचको सैन्य सहकार्यले तेस्रो पक्षलाई लक्षित गर्न, उसको हितमा क्षति पुर्याउन वा क्षेत्रीय शान्ति र स्थिरता कमजोर पार्न नहुने बताएका थिए। जापानका दक्षिणपन्थी शक्तिले सैन्य तथा सुरक्षा क्षेत्रमा जोखिमपूर्ण र उत्तेजक कदम चालिरहेको उल्लेख गर्दै उनले “नवसैन्यवाद पूर्वी एसियामा अस्थिरताको सम्भावित स्रोत बन्ने सङ्केत देखिँदै गएको” बताएका थिए।
सोङले जापानको ताइवानसम्बन्धी गतिविधिमा अमेरिकाको सहनशीलता र ताकाइची प्रशासनले यस विषयलाई बारम्बार उछाल्नु चीन–जापान सम्बन्ध बिग्रनुका कारण रहेको बताए। ताइवान विषयमा हस्तक्षेप जारी रहे द्विपक्षीय सम्बन्ध थप बिग्रन सक्ने र त्यसले क्षेत्रीय शान्ति तथा स्थिरतासँगै जापानकै हितमा क्षति पुर्याउन सक्ने उनको भनाइ छ।





