१९ आश्विन २०८३, सोमबार

झापा सीमाक्षेत्रमा अवैध ओसारपसार रोक्न सुरक्षा निगरानी तीव्र

ड्रागन मिडिया सम्वाददाता

अवैध ओसारपसार नियन्त्रण र सम्भावित राजस्व चुहावट घटाउन जिल्ला सुरक्षा समिति झापाले सीमाक्षेत्रमा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा समितिले आइतबार झापा–इलाम सीमावर्ती मेचीनगर, बुद्धशान्ति र अर्जुनधारासँग जोडिएका विभिन्न स्थानको स्थलगत अनुगमन गरी सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएको हो।

मुख्य नाकाबाहेक वैकल्पिक सडक र ग्रामीण मार्गबाट हुनसक्ने तस्करी तथा अवैध गतिविधिलाई सूक्ष्म निगरानीमा राखिएको पोखरेलले बताए। इलाम, पाँचथर र ताप्लेजुङबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर संवेदनशील क्षेत्रमा गस्ती बढाइएको उनले जानकारी दिए।

सीमाक्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित एकाइलाई नियमित गस्ती प्रभावकारी बनाउन निर्देशन दिइएको छ। उनीहरूले आफ्नो कार्यक्षेत्रमा गरेका गस्ती, सुरक्षा उपस्थिति र कारवाहीको विवरण प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा सुरक्षा अवस्था मूल्याङ्कन गरी थप रणनीति तय गरिने पोखरेलले बताए।

अनुगमनमा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका प्रमुख प्रहरी उपरीक्षक सचिन कर्माचार्य र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक उमेश पाण्डेसहित सुरक्षा अधिकारी सहभागी थिए। नजिकिँदो चाडपर्वमा पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने भएकाले थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button