हिउँ र कठिन बाटो पार गर्दै एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
ड्रागन मिडिया सम्वाददाता
दसैँ नजिकिँदै गर्दा मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल बढेको छ। माथिल्लो डोल्पाबाट ल्याइएका एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेका छन्।
डोल्पाका व्यापारी शेरबहादुर रोकायाले पाँच जना सहकर्मीसहित ती भेडाच्याङ्ग्रा ल्याएका हुन्। डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते हिँडेको टोली असोज १७ गते साँझ जोमसोम पुगेको रोकायाले बताए। उनका अनुसार भारी वर्षा, हिमपात र बाटोमा जमेको हिउँका कारण यात्रा कठिन भएको थियो। भेडाच्याङ्ग्रा अहिले घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्।
रोकायाले डोल्पो बुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट भेडाच्याङ्ग्रा खरिद गरी ल्याएका हुन्। नेपाल–चीन सीमाक्षेत्रमा लाग्ने च्याङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै खरिद गर्नुपरेको उनले बताए। च्याङ्ग्रा व्यापारमा तीन दशकदेखि संलग्न रोकायाका अनुसार यस वर्ष डोल्पाबाट आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ ल्याउने तयारी छ। गत वर्ष ११ हजारभन्दा बढी ल्याइएको थियो।
बाढीपहिरोले सडक र पदमार्ग अवरुद्ध भएमा भेडाच्याङ्ग्रा पोखरा पुर्याउन थप कठिन हुने रोकायाले बताए। उनले दसैँपछि डोल्पा फर्कने बाटो समयमै सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। गत वर्ष व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको उनले बताए।





