कोहलपुर घटनाको भिडिओ खिच्ने युट्युबर पक्राउ, स्वास्थ्यकर्मीमाथि पनि अनुसन्धान

ड्रागन मिडिया सम्वाददाता
बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीमाथि महिलाले हातपात गरेको भिडिओ सार्वजनिक गर्ने युट्युबर हिमान्सु शाहीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सहारा एचडी टिभी’ नामक च्यानल सञ्चालन गर्ने शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बाँके प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताएका छन्।
स्वास्थ्य जाँच गराउन आएकी महिलामाथि दुर्व्यवहार भएको आरोप लगाउँदै ती महिलाले स्वास्थ्यकर्मीलाई थप्पड हानेको भिडिओ शाहीको च्यानलबाट प्रसारण भएको थियो। भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडिओ योजनाबद्ध रूपमा खिचेर सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जालमा शाहीमाथि कारबाहीको माग उठेको थियो।
नेपाल पत्रकार महासङ्घ बाँकेले पत्रकारिता आचारसंहिताविपरीतका गतिविधि पत्रकारिताको दायरामा नपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो। स्थानीय पत्रकारका अनुसार शाहीले यसअघि पनि विवादित भिडिओ सार्वजनिक गरेका थिए। उनी महासङ्घका सदस्य नभएको समाचारमा उल्लेख छ।
प्रहरीका अनुसार घटनाकै दिन मेडिकल सञ्चालक र त्यहाँ पुगेका एक समूहबीच पनि कुटपिट भएको थियो. उक्त झडपको भिडिओ शाहीले तत्कालै सामाजिक सञ्जालमा राखेका थिए।
यसै घटनामा मेडिकल सञ्चालक स्वास्थ्यकर्मी थापामाथि करणीसम्बन्धी कसुरको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीले उनलाई सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। थापाले प्रहरी हिरासतमा जानुअघि बिरामीको सहमतिमा परीक्षण गरेको र कुनै गलत नियत नभएको दाबी गरेका थिए। उनको बयान भने अझै लिइनसकेको प्रहरीले जनाएको छ।
औषधि व्यवसायी परिषद् र सिएमए सङ्घले पनि घटनाबारे छानबिन अघि बढाएको जनाइएको छ। अनुसन्धान जारी रहेकाले संलग्न व्यक्तिहरूमाथिका आरोप पुष्टि हुन बाँकी छन्।





