६ मंसिर २०८३, शनिबार

नीर शाह, पूजा शर्मा र अशोक दर्जीको अभिनयमा ‘सेतो कोट’ बन्ने

ड्रागन मिडिया सम्वाददाता

शिवम अधिकारीको लेखन तथा निर्देशनमा नेपाली चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। नीर शाह, पूजा शर्मा र अशोक दर्जी मुख्य भूमिकामा रहने चलचित्रको शुक्रबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरिएको छ। निर्माण पक्षले काठमाडौं, मकवानपुर र ग्रामीण भेगका अन्य स्थानमा चलचित्रको छायाङ्कन गर्ने जनाएको छ।

मन्दिरमा पूजाआजापछि खिचिएको मुहूर्त दृश्यमा शर्मा र दर्जीले संवाद बोलेका थिए। उक्त दृश्यको निर्देशन शाहले गरेका थिए। शोभित बस्नेतले क्ल्याप दिएका थिए भने पत्रकार सरिता भारतीले क्यामेरा चलाएकी थिइन्। अभिनेता सुशान्त श्रेष्ठले नरिवल फुटाएका थिए।

पटकथा लेखनमा बढी व्यस्त रहँदै आएका अधिकारीले यसपटक लेखनसँगै निर्देशनको जिम्मेवारी लिएका छन्। निर्माण पक्षले सामाजिक यथार्थमा आधारित विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने जनाएको छ। मुहूर्तमा चलचित्रको मूल कथावस्तु र मुख्य पात्रको भूमिकाबारे विस्तृत जानकारी दिइएन। शर्माले पनि कथाबारे अहिले नै खुलाउन नसकिने बताइन्।

‘मन बिनाको धन’बाट चलचित्र अभिनय शुरु गरेका दर्जीको दोस्रो चलचित्र ‘पार्वती’ यसै वर्ष प्रदर्शनमा आएको थियो। उनले ‘सेतो कोट’मा नयाँ टोलीसँग काम गर्न उत्साहित रहेको बताए। ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले यही चलचित्रबाट ठूलो पर्दामा पाइला राख्दैछिन्। निर्मातासँगको कुराकानीपछि आफू चलचित्रमा जोडिएको दाहालले बताइन्।

चलचित्रमा पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायतको पनि अभिनय रहनेछ। मिनु शर्मा प्रोडक्सनअन्तर्गत बन्ने चलचित्रका निर्माता मिनु शर्मा र सन्देश थापा ‘काजी’ हुन्। फणीन्द्र तामाङ कार्यकारी निर्माता छन्। यो मिनु शर्माको दोस्रो चलचित्र निर्माण हो।

सौरभ लामाले छायाङ्कन गर्ने चलचित्रको सम्पादन बन्दे प्रसादले गर्नेछन्। स्टिभ शंकरले सङ्गीतको जिम्मेवारी सम्हालेका छन्। नवराज शर्मा मुख्य सहायक निर्देशक हुन् भने दीप्त प्रकाश अधिकारी र एलियास मलिक सहनिर्देशक छन्। मुहूर्तमा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थिएन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button