५ मंसिर २०८३, शुक्रबार

स्थानीय र प्रदेशसभा निर्वाचनको समयबारे आयोगले शीर्ष नेतासँग गर्‍यो परामर्श

ड्रागन मिडिया सम्वाददाता

निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको सम्भावित मितिबारे शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ। आयोगले दुवै निर्वाचन संविधान र कानुनबमोजिम हुने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलमा दुवै निर्वाचन एकै समयमा गर्ने सम्भावना र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्ने विषय उठेका थिए। दलका नेताहरूले आन्तरिक छलफलपछि आयोग र सरकारलाई सुझाव दिने बताएका छन्।

आयोगले सबै योग्य मतदातालाई नामावलीमा समेट्ने र एउटै मतदाताको नाम दोहोरिन नदिने कामलाई प्राथमिकता दिएको भट्टराईले बताए। उनका अनुसार नामावलीमा रहेका त्रुटि सच्याउन आयोगले त्यसलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडेको छ।

देशको कुल जनसंख्यामा महिलाको संख्या बढी भए पनि मतदाता नामावलीमा पुरुषको संख्या बढी रहेको भट्टराईले बताए। आयोगले यो अन्तर र नामावलीमा गर्नुपर्ने सुधारबारे पनि दलका नेताहरूलाई जानकारी गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button