प्रचण्डलाई स्वागत गर्न विमानस्थल पुगेका प्राधिकरणका अधिकृत सोधपुछपछि रिहा

ड्रागन मिडिया सम्वाददाता
रुसबाट फर्किएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत सुवास कोइरालालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले कोइरालालाई प्रहरी वृत्त गौशालामा सोधपुछ गरी बिहीबार साँझ छाडिएको रातोपाटीलाई बताएका हुन्।
रातोपाटीका अनुसार दाहाल र गृहमन्त्री सुधन गुरुङ बिहीबार एउटै उडानबाट काठमाडौँ फर्किएका थिए। दाहाल मस्कोमा आयोजित सम्मेलनमा र गुरुङ संयुक्त अरब इमिरेट्समा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी भएर फर्किएका थिए।
दाहाललाई स्वागत गर्न पार्टीका नेता अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङसँगै कोइराला पनि पङ्क्तिमा उभिएका थिए। सरकारी कर्मचारी राजनीतिक नेताको स्वागतमा उभिएको भन्दै गृहमन्त्री गुरुङले कोइरालालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको रातोपाटीले जनाएको छ। निर्देशनबारे गृह मन्त्रालयको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको पुष्टि हुन बाँकी छ।





