५ मंसिर २०८३, शुक्रबार

संविधान र कानुनअनुसार निर्वाचन गर्न प्रचण्डको आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनको व्यवस्थाअनुसार आगामी निर्वाचन गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलमा उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताए। प्रस्तावित समयतालिकाबारे पार्टीभित्र थप छलफल र अध्ययनपछि अन्तिम धारणा तय गर्ने उनको भनाइ थियो।

दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउन आयोगले मतदातालाई निर्वाध मतदान गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विगतका निर्वाचनमा मतपेटिका ओसारपसार, मतगणना र मतपरिणामबारे उम्मेदवारहरूले गुनासो गरेको स्मरण गर्दै उनले त्यस्ता प्रश्न दोहोरिन नदिन निर्वाचन प्रक्रियालाई थप पारदर्शी बनाउन आग्रह गरे। कतिपय उम्मेदवारले मत हराएको र मतपेटिका ओसारपसारमा आफ्ना प्रतिनिधिलाई सहभागी हुन नदिएको गुनासो गरेको उनले उल्लेख गरे।

अघिल्लो निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भएको बताउँदै दाहालले लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनमा राजनीतिक दल तथा नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने धारणा राखे।

दाहालले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे। शान्ति सम्झौतापछि पहिलो संविधानसभा निर्वाचनकै समयदेखि आफूले यो विषय उठाउँदै आएको बताउँदै उनले त्यसका कानुनी र प्राविधिक पक्ष अध्ययन गर्नुपर्नेमा जोड दिए। धेरै नेपाली नागरिक रहेका मुलुकका सरकारसँग नेपाल सरकारले द्विपक्षीय वार्ता गर्नुपर्ने र निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो।

निर्वाचन दुई चरणमा गर्ने विषयमा आयोगको प्रस्तुति र सुझाव अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि धारणा तय गर्ने दाहालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button