प्रधानमन्त्री शाहको भारत भ्रमणमा मोदीसँग वार्ता, व्यापार र लगानीबारे व्यावसायिक मञ्च

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमणमा उच्चस्तरीय राजनीतिक वार्तासँगै व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ। भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुवै देशका व्यवसायीले व्यापार र लगानीका अवसर, नीतिगत विषय तथा व्यावसायिक साझेदारीबारे छलफल गर्नेछन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले मंसिर ७ गते सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
भ्रमणका क्रममा ऊर्जा सहकार्य र सीमापार सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन र मानव संसाधन विकासमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ। त्यसबाहेक व्यवसायी र सञ्चारकर्मी गरी थप ५२ जना आफ्नै खर्चमा जाने सचिव राईले बताए।





