चीनमा एसियाकै सबैभन्दा पुरानो ज्ञात चट्टान फेला, उमेर ३ अर्ब ९५ करोड वर्ष

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ भूगर्भविद्हरूले पूर्वी हपेई प्रान्तमा ३ अर्ब ९५ करोड वर्ष पुरानो चट्टान फेला पारेका छन्। चीनको भूगर्भ सर्वेक्षण संस्थाले शुक्रबार यसलाई एसियामा हालसम्म पहिचान भएको सबैभन्दा पुरानो चट्टान भएको जनाएको छ। चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता वान युशेङको नेतृत्वमा गरिएको अध्ययन वैज्ञानिक जर्नल ‘नेचर’मा प्रकाशित भएको सिन्ह्वाले जनाएको छ।
पृथ्वी करिब ४ अर्ब ५० करोड वर्षअघि बनेको मानिन्छ। त्यसपछिका सुरुका केही सय करोड वर्षमध्ये पनि प्रारम्भिक केही सय मिलियन वर्षका भूगर्भीय अभिलेख जोगिन कठिन भएकाले त्यति पुराना चट्टानका नमुना दुर्लभ छन्। क्यानडाको करिब ४ अर्ब वर्ष पुरानो अकास्टा नाइस चट्टानभन्दा हपेईमा फेला परेको चट्टान करिब ५ करोड वर्ष कान्छो छ।
अनुसन्धानकर्ताका अनुसार चट्टानको विश्लेषणले ३ अर्ब ९५ करोड वर्षअघि नै पृथ्वीको बाहिरी तहको एउटा भाग अर्को भागमुनि धसिने प्रक्रियासँग सम्बन्धित भूगर्भीय गतिविधि भएको हुन सक्ने संकेत दिएको छ। अध्ययनले पृथ्वीको प्रारम्भिक ‘हेडियन’ कालमै भूपर्पटीमुनिको म्यान्टलबाट केही रासायनिक तत्त्व छुट्टिसकेको प्रमाण पनि दिएको अनुसन्धानकर्ताले बताएका छन्।





