५ मंसिर २०८३, शुक्रबार

गरिबी न्यूनीकरणका उपलब्धि जोगाउँदै ग्रामीण विकास अघि बढाउन चिनियाँ उपप्रधानमन्त्रीको जोड

ड्रागन मिडिया समाचार कक्ष

चीनका उपप्रधानमन्त्री लिउ गोउचोङले गरिबी न्यूनीकरणका उपलब्धि जोगाउन, ठूलो संख्यामा परिवार फेरि गरिबीमा धकेलिने अवस्था रोक्न र ग्रामीण विकासलाई निरन्तर अघि बढाउन जोड दिएका छन्। उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबारदेखि बिहीबारसम्म गरेको स्थलगत भ्रमणका क्रममा उनले यस्तो बताएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका लिउले उत्तरपश्चिम चीनका पाँच प्रान्त तथा स्वायत्त क्षेत्रको नियमित सहायता कार्यक्रमसम्बन्धी बैठकको अध्यक्षता गरेको सिन्ह्वाले जनाएको छ।

लोङनानका तानछाङ र वेन काउन्टी तथा वुदु जिल्लामा उनले परिवारहरू फेरि गरिबीमा पर्ने जोखिम पहिचान गर्ने अनुगमन प्रणाली र उद्योग तथा रोजगारीका लागि सञ्चालित सहायता कार्यक्रमको निरीक्षण गरे। उनले चीनका पूर्वी र पश्चिमी क्षेत्रबीचको सहकार्य तथा केन्द्रीय सरकारी निकायले लक्षित समुदायलाई उपलब्ध गराउँदै आएको सहायताबारे पनि जानकारी लिए।

नियमित सहायता व्यवस्था कार्यान्वयनको यो पहिलो वर्ष भएको उल्लेख गर्दै लिउले सम्बन्धित नीति र कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न आग्रह गरे। उनले स्थानीय अवस्था र सम्भावनाअनुसार सहायता प्राप्त उद्योगको स्तरोन्नति गर्न, सीप तालिम र श्रम सहकार्य विस्तार गर्न तथा रोजगारीका थप अवसर सिर्जना गर्न जोड दिए।

लिउले काउन्टी तहको अर्थतन्त्र सुदृढ गर्दै पुराना क्रान्तिकारी आधार क्षेत्र, अल्पसंख्यक जातीय समुदाय बसोबास गर्ने क्षेत्र र सीमाक्षेत्रको विकासलाई गति दिनुपर्ने बताए। उनले पूर्वी चीनको चच्याङ प्रान्तमा सञ्चालित हरित ग्रामीण पुनरुत्थान कार्यक्रमको अनुभव उपयोग गरी गाउँलाई बसोबास र कामका लागि उपयुक्त बनाउन पनि जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button