मन्त्रीपरिषदबाट प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, बाढी राहतका लागि चिनियाँ अनुदान स्वीकार्ने निर्णय

ड्रागन मिडिया सम्वाददाता
मन्त्रीपरिषदले प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको बैठकले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता विक्रम तिमल्सिनाले जानकारी दिए।
बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘र्यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।
देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय बैठकले गरेको छ। मन्त्रीपरिषदले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ।
संसद अधिवेशन बोलाउने र अध्यादेश ल्याउने विषयमा बैठकले कुनै निर्णय नगरेको प्रवक्ता तिमल्सिनाले बताए। उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका कार्यसूचीबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ।





