प्याट्रिआर्क किरिलको ८०औँ जन्मदिनमा रुसी विदेशमन्त्री लाभरोभको शुभकामना

ड्रागन मिडिया समाचार कक्ष
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को तथा सम्पूर्ण रुसका प्याट्रिआर्क किरिललाई ८०औँ जन्मदिनको शुभकामना दिएका छन्। रुसी विदेश मन्त्रालयले नोभेम्बर २० मा सार्वजनिक गरेको सन्देशमा लाभरोभले किरिलको लामो धार्मिक नेतृत्वले रुसभित्र र बाहिर सम्मान पाएको उल्लेख गरेका छन्।
किरिलको धार्मिक सेवाले मानिसलाई आध्यात्मिक आधार खोज्न मद्दत गरेको र रुसी समाजको नैतिक आधार बलियो बनाउन योगदान दिएको लाभरोभले बताएका छन्। उनले युवा पुस्तामा देशभक्तिको भावना विकास गर्न किरिलले खेलेको भूमिकाको प्रशंसा गरे। रुसले ‘विशेष सैन्य अभियान’ भन्ने युक्रेन युद्धमा सहभागी रुसी सैनिक र उनीहरूका परिवारलाई किरिलले दिएको समर्थनको पनि उनले कदर गरे।
लाभरोभले किरिलसँगको सहकार्यले रुस र अर्थोडक्स इसाई समुदायको अन्तर्राष्ट्रिय स्थान सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे। समानता, सत्य र न्यायमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउन यो सहकार्य जारी रहने अपेक्षा व्यक्त गर्दै उनले किरिलको सुस्वास्थ्य र दीर्घायुको कामना गरे।





