५ मंसिर २०८३, शुक्रबार

युक्रेन युद्ध अन्त्यका लागि समझौता गर्न रुस तयार छ: पुटिन

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्न रुस समझौताका लागि तयार रहेको बताएका छन्। चीन भ्रमणपछि नोभेम्बर १९ मा शेन्जेनमा आयोजित पत्रकार सम्मेलनमा उनले एन्करेजमा अघि सारिएका समझौताका प्रस्तावलाई मस्कोले समर्थन गरेको बताउँदै युक्रेन र उसका युरोपेली साझेदारले ती प्रस्ताव स्वीकार गर्छन् कि गर्दैनन् भन्ने प्रश्न बाँकी रहेको उल्लेख गरे।

पुटिनले युक्रेन र रुस दुवैलाई सुरक्षाको अधिकार रहेको बताए। सम्भावित शान्ति सम्झौतामा रुसका सुरक्षा चासो र युद्धभूमिको विद्यमान अवस्थालाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। सन २०२२ अघिका आठ वर्षदेखि दानबासमा जारी लडाइँ अन्त्य गर्ने उद्देश्यले रुसले कदम चालेको उनले दाबी गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेन युद्धको समाधान खोज्न र रुससँगको द्विपक्षीय सम्बन्ध सुधार्न इच्छुक रहेको विश्वास पनि उनले व्यक्त गरे।

क्रिमिया पुलमाथिका आक्रमणपछि समुद्री क्षेत्रमा र ऊर्जा प्रतिष्ठानमाथि प्रहार रोक्ने विषयमा तत्काल सहमति नगर्ने पुटिनले बताए। पुल नागरिक प्रयोजनका लागि मात्र प्रयोग भएको दाबी गर्दै उनले आक्रमणको जवाफ दिने चेतावनी दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति ट्रम्पसँगको त्रिपक्षीय बैठकमा आणविक तथा अन्य आमविनाशकारी हतियारको प्रसार रोक्ने र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्ने विषयमा छलफल भएको पुटिनले जानकारी दिए। खुला छलफलले तीन देशलाई एकअर्काको धारणा बुझ्न र भविष्यमा सहमति जुटाउन आधार दिएको उनको भनाइ थियो। उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो अधिकारक्षेत्र नाघेर राजनीतिक निर्णय गरेको आरोप पनि लगाए।

एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) बारे बोल्दै पुटिनले रुसको कुल वैदेशिक व्यापारमा एसिया–प्रशान्त क्षेत्रको हिस्सा ६० प्रतिशत नाघेको बताए। यसअघि उक्त हिस्सा ४० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ थियो। उनले रुस–चीन सम्बन्धलाई अन्तर्राष्ट्रिय सुरक्षा र विश्व शक्ति सन्तुलन कायम राख्ने महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button