स्थानीय निर्वाचन जित्ने ओलीको दाबी, जनप्रतिनिधिलाई कार्यशैली सुधार्न निर्देशन

ड्रागन मिडिया सम्वाददाता
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी विजयी हुने र छिट्टै सरकारको नेतृत्वमा फर्कने दाबी गरेका छन्। शुक्रबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तह आगामी चुनावी प्रतिस्पर्धाको मुख्य थलो हुने बताए।
देशको विकास र राष्ट्रिय हितको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने ओलीको तर्क थियो। ‘हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन। हामी जित्छौँ,’ उनले भने।
ओलीले पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई काममा देखिएका कमजोरी सच्याउन र जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए। जिम्मेवारी राम्रोसँग निर्वाह गरेका जनप्रतिनिधि फेरि त्यही पदमा निर्वाचित हुने सम्भावना रहेको उनको भनाइ थियो।
उनले संविधान र प्रचलित कानुनसँग नबाझिने गरी स्थानीय तहलाई आफ्नो अधिकारक्षेत्रभित्र आवश्यक कानुन बनाएर काम गर्न पनि आग्रह गरे।





