गुर्जामा छायाङ्कन गरिएको ‘सारथी’को ट्रेलर सार्वजनिक, मंसिर ११ देखि प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता
म्याग्दीको गुर्जा क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘सारथी’को ट्रेलर शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा सार्वजनिक गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा निरुता सिंह, उत्तम प्रधान र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। चलचित्र आगामी शुक्रबार, मंसिर ११ गते अर्थात २७ नोभेम्बरदेखि प्रदर्शनमा आउने तय भएको छ।
ट्रेलरले विवाहअघि गर्भवती भएपछि गाउँमा अपहेलना भोग्ने एक महिला र उनीप्रति छोराले निर्वाह गर्ने जिम्मेवारीलाई कथाको केन्द्रमा राखेको छ। सिंह आमाको भूमिकामा छिन् भने विश्वकर्माले छोराको भूमिका निर्वाह गरेका छन्। जीवनका कठिन मोडमा आमा छोराको सहारा बनेको र पछि छोराले आमाको पक्षमा उभिनुपरेको प्रसङ्ग ट्रेलरमा देखाइएको छ। आमाबाट टाढिएका बाबुसँग छोराको द्वन्द्वले कथालाई अघि बढाउने सङ्केत पनि ट्रेलरले दिन्छ।
सिंह र प्रधानलाई एउटै चलचित्रमा फेरि देख्न पाइने ‘सारथी’ गजुरेलको पहिलो निर्देशकीय चलचित्र हो। ट्रेलरले आमा र छोराको सम्बन्ध खुलाए पनि प्रधान र गायत्री जोशीका पात्र कथामा कसरी जोडिन्छन् भन्ने खुलाएको छैन। मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल र कमला अर्याललगायतको पनि चलचित्रमा अभिनय छ।
निर्माण टोलीले चलचित्रको छायाङ्कन म्याग्दीको गुर्जा–खानी क्षेत्रमा गरेको हो। ट्रेलरमा गाउँका घरबस्ती र स्थानीय जनजीवनका दृश्यसँगै परिवारभित्रको तनाव र गाउँलेको प्रतिक्रियालाई देखाइएको छ। यसै परिवेशमा महिलाले भोग्ने सामाजिक दबाब र त्यसले आमा–छोराको सम्बन्धमा पार्ने प्रभावलाई चलचित्रले उठाएको देखिन्छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता तथा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन्। संकल्प भुजेलले छायाङ्कन गरेको चलचित्रको सम्पादन तारा थापाले गरेका छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ।





