भालुको पित्त र हात्तीका दाह्रासहित तीन जना पक्राउ
ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीका दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीका योगेन्द्रप्रसाद चौधरीलाई काठमाडौँको सोह्रखुट्टेबाट पक्राउ गरेको हो। उनीबाट १४० ग्रामको भालुको पित्त एक थान बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुलीको कमलामाई क्षेत्रबाट सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मा पक्राउ परेका छन्। उनीहरूबाट छ किलोग्राम हात्तीका दाह्रा बरामद गरिएको ब्यूरोले जनाएको छ।
चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।





