६ मंसिर २०८३, शनिबार

जब्दीघाटमा नयाँ पुल बनाउन ६७ करोड ४६ लाखको सम्झौता

ड्रागन मिडिया सम्वाददाता

बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटमा नयाँ पुल निर्माण गर्न ६७ करोड ४६ लाख रुपैयाँको सम्झौता भएको छ। बबई नदीमाथिको पुरानो पुलको ठेक्का तोडिएको चार वर्षपछि सडक विभागले नयाँ पुलको डिजाइन र निर्माणको जिम्मा एमआर ग्रुप एन्ड कम्पनीलाई दिएको हो।

कान्तिपुरका अनुसार गत कात्तिक १६ गते भएको सम्झौताअन्तर्गत कम्पनीले नौ महिनाभित्र पुलको डिजाइन तयार पारेर सडक विभागबाट स्वीकृत गराउनुपर्नेछ। डिजाइन र निर्माण दुवैको जिम्मेवारी एउटै कम्पनीलाई दिने ‘डिजाइन एन्ड बिल्ड’ ढाँचामा ठेक्का लगाइएको हो। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार ४२५ मिटर लामो नयाँ पुलको निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।

जब्दीघाट पुल नेपाल–भारत सीमाको मुर्तियाबाट गुलरिया हुँदै पूर्व–पश्चिम राजमार्गसम्म जोड्ने सडकमा पर्छ। पुरानो पुल भासिएपछि स्थानीयले नयाँ पुल बनाउन माग गर्दै आएका थिए। बजेटको स्रोत सुनिश्चित हुन नसकेको र प्राविधिक समस्या रहेको भन्दै नयाँ ठेक्का प्रक्रिया लामो समयसम्म अघि बढेको थिएन।

पुरानो पुल बनाउन २०६८ असार २२ गते पप्पु कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७२ मंसिर ८ गतेभित्र निर्माण सक्नुपर्ने भए पनि काम ढिलो भएको थियो। १६ करोड ६८ लाख रुपैयाँमा बनेको पुल २०७४ साउन २८ गते भासियो। क्षतिग्रस्त पुललाई २०७९ असोज २२ गतेको बाढीले बगायो। सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार त्यही समयमा पुरानो ठेक्का अन्त्य गरिएको थियो।

कार्यालयका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार पुरानो पुल छोटो समय मात्र प्रयोगमा आएको थियो। पुल भासिएपछि कार्यालयले निर्माण व्यवसायीलाई मर्मत गर्न भनेको थियो। व्यवसायीले मर्मत नगरेपछि ठेक्का तोडिएको भट्टले बताएका छन्।

पुल निर्माणको माग गर्दै स्थानीयले २०८० पुस २४ गते गुलरियामा प्रदर्शन गरेका थिए। बर्दिया–१ बाट निर्वाचित पूर्वमन्त्री सञ्जय गौतमले पनि निर्माण अघि बढाउन दबाब दिँदै अनशन बसेका थिए। पटक–पटक निर्माणको प्रतिबद्धता आए पनि नयाँ ठेक्का लाग्न चार वर्ष लाग्यो। अब सम्झौताअनुसार नौ महिनाभित्र डिजाइन स्वीकृत गराउनु निर्माण कम्पनीको पहिलो जिम्मेवारी हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button