विस्तृत शान्ति सम्झौताको २० वर्ष, द्वन्द्वपीडितलाई न्याय दिन दाहालको आग्रह

ड्रागन मिडिया सम्वाददाता
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुगेको अवसरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्दै संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्न आग्रह गरेका छन्। शनिबार जारी सन्देशमा उनले सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुङ्ग्याउन र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताले दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै मुलुकलाई संविधानसभा निर्वाचन र नयाँ राजनीतिक व्यवस्थातर्फ अघि बढाउने आधार तयार गरेको थियो।
दाहालले सम्झौतालाई नेपाली जनताको संघर्ष, त्याग र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा स्मरण गरेका छन्। संविधानसभा निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी प्रतिनिधित्व र नयाँ संविधान निर्माणलाई उनले शान्ति प्रक्रियाका प्रमुख उपलब्धि मानेका छन्।
राजनीतिक परिवर्तनसँगै पीडितलाई न्याय र समाजमा मेलमिलाप सुनिश्चित गर्ने प्रतिबद्धता अझै पूरा गर्न बाँकी रहेको दाहालको भनाइ छ। उनले पीडितका सरोकारलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्याउनु राष्ट्रिय दायित्व भएको बताएका छन्।
दाहालले राजनीतिक परिवर्तनका लागि जीवन गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता पारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गरेका छन्। उनले शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नागरिकको भूमिकासमेत स्मरण गरेका छन्।





