धरानको पहिलो चलचित्र महोत्सवका लागि आवेदन खुला, मंसिर १० सम्म चलचित्र पठाउन सकिने

ड्रागन मिडिया सम्वाददाता
सुनसरीको धरानमा पहिलोपटक आयोजना हुन लागेको ‘धरान फिल्म फेस्टिभल’का लागि चलचित्र दर्ता खुला गरिएको छ। बीपीफोर इन्टरटेन्मेन्टले मंसिर २७ र २८ गते आयोजना गर्ने दुईदिने महोत्सवमा सहभागी हुन इच्छुक निर्माता तथा निर्देशकले मंसिर १० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। प्राप्त आवेदानमध्ये छनोट भएका चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछन्।
आयोजकले कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रलगायतका विधामा आवेदन मागेको छ। महोत्सवका निर्देशक तथा आयोजक संस्थाका सञ्चालक विनोद विश्वकर्माका अनुसार चलचित्र पठाउन महोत्सवको आधिकारिक वेबसाइट वा कार्यक्रम व्यवस्थापक इभेन्टलयको वेबसाइट प्रयोग गर्न सकिन्छ। महोत्सवको आधिकारिक फेसबुक पेजमा पनि आवेदन फारामको क्यूआर कोड र लिङ्क राखिएको छ।
महोत्सवमा छनोट भएका चलचित्रको नियमित प्रदर्शनसँगै विशेष प्रदर्शन, चलचित्र निर्माणसम्बन्धी कार्यशाला र विज्ञ कक्षा सञ्चालन गर्ने तयारी छ। चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया पनि राखिने विश्वकर्माले जानकारी दिएका छन्। विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने र सांस्कृतिक प्रदर्शनी आयोजना गर्ने कार्यक्रमसमेत छ। आयोजकले महोत्सवका विभिन्न कार्यक्रममा सहभागी हुन छुट्टाछुट्टै दर्ता फाराम खोल्ने जनाएको छ।
कार्यक्रममा चलचित्र पर्यटनबारे समूहगत छलफल पनि हुनेछ। आयोजकका अनुसार महोत्सवको उद्देश्य कोशी प्रदेशका चलचित्रकर्मीलाई आफ्ना सिर्जना दर्शकमाझ प्रस्तुत गर्ने अवसर दिनु र स्थानीय सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउन सघाउनु हो।
‘पूर्णबहादुरको सारङ्गी’, ‘जारी’, ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’जस्ता नेपाली चलचित्रले धरानमा राम्रो व्यापार गरेको चलचित्रसम्बन्धी समाचारमाध्यम फिल्मीखबरले जनाएको छ। व्यावसायिक चलचित्रको बजार रहेको शहरमा आयोजना हुन लागेको यो महोत्सवले लघु चलचित्र र वृत्तचित्रका निर्मातालाई पनि आफ्ना काम स्थानीय दर्शकमाझ देखाउने अवसर दिनेछ।





