बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण क्षति, अर्बौँका पूर्वाधारमा नोक्सानी

ड्रागन मिडिया सम्वाददाता
अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। विपद्ले १११ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ र सडक, खानेपानी, विद्युत्, सञ्चार तथा सिँचाइका पूर्वाधारमा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा छन्। प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा क्षतिको विवरण सार्वजनिक गरेका हुन्।
प्रारम्भिक अनुमानअनुसार बेनी–जोमसोम सडकखण्डमा ८० देखि ९० करोड रुपैयाँ र बेनी–दरबाङ सडकखण्डमा करिब आठ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। बेनीमा खानेपानी वितरण गर्ने संरचनामा आठदेखि १० करोड रुपैयाँ र विद्युत् संरचनामा करिब दुई करोड ५० लाख रुपैयाँको नोक्सानी भएको प्रशासनले जनाएको छ।
नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको र तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी र बेगखोलालगायत ग्रामीण क्षेत्र अन्धकारमा छन्।
सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका क्षेत्रमा हेलिकप्टरबाट ३०० भन्दा बढी परिवारलाई राहत सामग्री पुर्याइएको छ। जोखिममा परेका दुई गर्भवती र दुई गम्भीर बिरामीलाई पनि हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
विस्थापित परिवारलाई स्थानीय विद्यालय, सामुदायिक भवन र आफन्तका घरमा राखिएको छ। पूर्ण रूपमा घर क्षति भएका परिवारका लागि अस्थायी आवासका रूपमा बलिया पालको व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्म यातायात सञ्चालनमा आएको छ। बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक अध्ययन पूरा भएको छ। अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप अध्ययनको तयारी भइरहेको छ।
खोज तथा उद्धारपछि राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन र अवरुद्ध सडक, विद्युत्, सञ्चार तथा खानेपानी सेवा पुनः सञ्चालनमा ध्यान केन्द्रित गरिएको प्रशासनले जनाएको छ। विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण पनि प्राथमिकतामा रहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।





