२१ आश्विन २०८३, बुधबार

दसैँलगत्तै एनपिएल, कीर्तिपुर क्रिकेट मैदानको तयारी तीव्र

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र व्यवस्थापनको काम तीव्र पारिएको छ। प्रतियोगिता शुरु हुन करिब तीन साता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट सङ्घले जनाएको छ।

सङ्घका सचिव पारस खड्काका अनुसार गत संस्करणमा देखिएका व्यवस्थापनका समस्या सुधार्दै यसपटक दर्शक, खेलाडी, सञ्चारकर्मी र विशिष्ट पाहुनाका लागि सहज वातावरण बनाउन काम भइरहेको छ। दसैँसम्म सबै तयारी पूरा गर्ने लक्ष्य रहेको उनले बताए।

दर्शकको चापलाई ध्यानमा राखेर मैदान परिसरमा थप दर्शक अटाउन सकिने ठाउँ पहिचान गरी संरचनात्मक सुधार भइरहेको छ। मैदान प्रवेश गर्ने बाटो र द्वार व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरिएको छ। दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज होस् भनेर विशेष ध्यान दिइएको खड्काले बताए।

गत संस्करणमा शौचालय र आवतजावतका क्रममा धुलोका कारण दर्शकले समस्या भोगेका थिए। यसपटक ती समस्या दोहोरिन नदिन आवश्यक पहल भइरहेको सङ्घले जनाएको छ।

दसैँ र तिहारबीच प्रतियोगिता आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण उत्साह घट्ने चिन्ता नरहेको खड्काले बताए। प्रतियोगिताको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई आधार बनाइएको उनले जानकारी दिए।

तेस्रो संस्करणमा सहभागी टोलीहरूले चर्चित अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन्। टेलिभिजनमा देखिएका खेलाडीलाई कीर्तिपुरमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकको आकर्षण बढ्ने सङ्घको अपेक्षा छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button