२४ आश्विन २०८३, शनिबार

राष्ट्रमण्डल देशसँग रुसको व्यापार ११० अर्ब डलर नाघ्यो : पुटिन

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) देशसँग रुसको व्यापार सन् २०२५ मा ११० अर्ब अमेरिकी डलर नाघेको बताएका छन्। यस वर्षको पहिलो छ महिनामा व्यापार थप १२ प्रतिशतले बढेको उनले शुक्रबार तुर्कमेनबाशीमा सीआईएस राष्ट्रप्रमुखहरूको सीमित ढाँचाको बैठकमा बताए।

पुटिनले साढे तीन दशकमा सीआईएस सम्मानित क्षेत्रीय एकीकरण संगठनका रूपमा स्थापित भएको र साझा राज्यमा विकसित भएका आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्ध जोगाउन र अझ बलियो बनाउन योगदान दिएको बताए। व्यापार, लगानी र उच्च प्रविधिमा सहकार्य भए पनि यसलाई अझ तीव्र र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

सीआईएस देशहरूले वित्तीय तथा आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी समन्वय गरेको पुटिनले बताए। डिजिटल प्रविधिको आपराधिक प्रयोग, संगठित अपराध, लागुऔषध ओसारपसार, आतङ्कवाद र अतिवादविरुद्ध संयुक्त कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे। आपराधिक न्याय, साइबर अपराध रोकथाम र सीमा सुरक्षासम्बन्धी प्रस्तावित निर्णयलाई रुसले समर्थन गरेको पनि उनले बताए।

सीआईएसका सबै देशले अन्तर्राष्ट्रिय कानुनका मान्य सिद्धान्त र संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकामा आधारित न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाको समर्थन गरेको पुटिनले बताए। विज्ञान, शिक्षा, संस्कृति, पर्यटन, स्वास्थ्य, वातावरण, खेलकुद र युवा नीतिमा समेत सदस्य राष्ट्रबीच सहकार्य भइरहेको उनको भनाइ थियो।

रुसी भाषालाई विशाल सीआईएस क्षेत्रमा जनतालाई जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै पुटिनले सन् २०२६ मा रुसी भाषा अन्तर्राष्ट्रिय संगठनले काम शुरु गरेको जानकारी दिए। साझा इतिहासको संरक्षण र त्यसको विकृतीकरण रोक्न युवालाई सोभियत कालका उपलब्धि तथा महान् देशभक्तिपूर्ण युद्धमा पूर्वजहरूको योगदानबारे सत्य जानकारी दिनुपर्नेमा पनि उनले जोड दिए।

सीआईएसको सकारात्मक छवि जनसमुदाय, सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको पुटिनले बताए। उनले परम्पराअनुसार डिसेम्बर २१ मा सेन्ट पिटर्सबर्गमा हुने सीआईएस नेताहरूको अनौपचारिक भेटमा सहभागी हुन सदस्य राष्ट्रका नेताहरूलाई निमन्त्रणा दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button