९ मंसिर २०८३, मंगलवार

सीमा वार्ताको मिति र समयसीमा तोक्नुपर्छ, भारत भ्रमणको मूल्यांकन परिणामबाट हुन्छ : पूर्वराजदूत उपाध्याय

ड्रागन मिडिया सम्वाददाता

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सीमा विवाद समाधानको जिम्मा परराष्ट्र सचिवहरूलाई दिइए पनि बैठक कहिले बस्ने र कहिलेसम्म निष्कर्षमा पुग्ने भन्ने स्पष्ट नभएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले पुराना विवाद सुल्झाउने अवसर दिएको उल्लेख गर्दै उनले भ्रमणको मूल्यांकन सहमति कार्यान्वयनमा देखिने प्रगतिका आधारमा गर्नुपर्ने बताए।

रेडियो कान्तिपुरको कार्यक्रम ‘द हेडलाइनर्स’मा श्रीकृष्ण न्यौपानेसँगको अन्तर्वार्तामा उपाध्यायले सीमा विवाद, सन १९५० को शान्ति तथा मैत्री सन्धि र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनबारे प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै के कुराकानी भयो भन्ने सार्वजनिक रूपमा स्पष्ट नभएको बताए। औपचारिक कार्यसूचीमा कुनै विषय नदेखिएकै आधारमा प्रधानमन्त्रीले त्यो विषय उठाएनन् भनेर निष्कर्ष निकाल्न हतार हुने उनको भनाइ छ।

उपाध्यायले दुई नेताबीचको कुराकानीको विवरण परराष्ट्र मन्त्रालयमा सुरक्षित राख्नुपर्नेमा जोड दिए। नेपालले कुन विषय उठायो, भारतले के जवाफ दियो र कहाँ सहमति वा असहमति रह्यो भन्ने अभिलेख भए अर्को चरणको वार्ता त्यही बिन्दुबाट अघि बढाउन सकिने उनले बताए। विवादित विषय औपचारिक बैठकमा नराख्ने समझदारी भएको भए पनि त्यसलाई सम्बोधन गर्ने माध्यम र समयसीमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

नेपाल र भारतका नागरिकबीच ऐतिहासिक, सांस्कृतिक र सामाजिक निकटता रहे पनि सरकारी तहमा नेपालले पठाएका कूटनीतिक नोटको जवाफ नआउने र सहमति भएका विषयसमेत वर्षौं अल्झिने गरेको अनुभव उनले सुनाए। भारतले आफ्ना सरोकारमा नेपालबाट तत्काल प्रतिक्रिया खोज्ने तर नेपालले उठाएका प्रश्नमा लामो समयसम्म जवाफ नपाउने गरेको उनको भनाइ छ। ‘नेपाल–भारत सम्बन्धको कार्पेट धेरै फोहोर भइसकेको छ। त्यसलाई सफा गर्न दुवै पक्षले प्रयास गर्नुपर्छ,’ उनले भने।

उपाध्यायका अनुसार दुई देशबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र छन्। ती संयन्त्रलाई सक्रिय बनाउन र तिनका निर्णय कार्यान्वयन गर्न राजनीतिक नेतृत्वले स्पष्ट निर्देशन दिनुपर्ने उनले बताए। दशकौँदेखि अल्झिएको पञ्चेश्वर परियोजनाको उदाहरण दिँदै उनले जलस्रोतको उपयोगमा ढिलाइ हुँदा दुवै देशले आर्थिक अवसर गुमाइरहेको बताए। साझा नदीबाट दुवै देशले लाभ लिन भारतले नेपाललाई समान साझेदारका रूपमा व्यवहार गर्नुपर्ने उनको धारणा छ।

छोटो भ्रमण, सानो प्रतिनिधिमण्डल र कम खर्चलाई उपाध्यायले सकारात्मक अभ्यास मानेका छन्। मोदीले शाहको सार्वजनिक प्रशंसा गर्नु पनि सद्भावको संकेत भएको उनले बताए। अब त्यो सद्भावलाई परिणाममा बदल्न नेपालभित्रै साझा अडान आवश्यक रहेको उनको भनाइ छ। प्रधानमन्त्री, मन्त्री र दलका नेताबाट फरक सन्देश जाँदा वार्तामा नेपालको पक्ष कमजोर हुने भन्दै उनले सीमा, जलस्रोत र सन्धिजस्ता विषयमा सरकार, संसद र राजनीतिक दलबीच साझा समझदारी बनाउन आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button