नेपालगन्जमा राष्ट्रिय खेलकुदको पौडी शुरु, ४६ स्पर्धामा करिब २०० खेलाडी भिड्दै

ड्रागन मिडिया सम्वाददाता
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता मंगलबार नेपालगन्ज रंगशालाको पौडी पोखरीमा शुरु भएको छ। चार दिनसम्म चल्ने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार पौडीमा ३४ व्यक्तिगत र १२ सामूहिक गरी ४६ स्पर्धा छन्। यसपालि खेलाडीले दूरी पूरा गर्न लगाएको समय मापन गर्न पोखरीमा कोलोराडो टाइमिङ सिस्टमसँग जोडिएका टचप्याड जडान गरिएको छ। खड्काले यसबाट प्रत्येक खेलाडीको समय अझ सटीक रूपमा अभिलेख गर्न सकिने बताए।
नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले प्रतियोगिताको सञ्चालन र प्राविधिक व्यवस्थापनमा समन्वय गरिरहेका छन्। संघका अध्यक्ष जगतमान श्रेष्ठले तयारीमा सहयोग गर्ने प्रदेश खेलकुद संघ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक र निर्णायकलाई धन्यवाद दिए।
नेपाल पौडी संघका अनुसार प्रतियोगितामा पदक जित्ने पौडीबाजले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।





