९ मंसिर २०८३, मंगलवार

देउवालाई राजनीतिक मर्यादा कायम राख्न थापाको आग्रह, असन्तुष्ट नेताहरूलाई संवादको आह्वान

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनबारे असहमति राख्दा राजनीतिक मर्यादा कायम गर्न आग्रह गरेका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा थापाले देउवालाई अहिले पनि आफ्नो नेता र अभिभावक मान्ने बताउँदै महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग संवाद गर्न आफू तयार रहेको बताए।

देउवा पक्षले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने तयारी गरिरहेको छ। त्यस पक्षका जिल्ला र प्रदेश अधिवेशन उद्घाटनका क्रममा देउवासहितका नेताले थापाको नेतृत्व र पार्टीको आधिकारिकतामाथि प्रश्न उठाएका छन्। थापाले विशेष महाधिवेशनबारे प्रश्न उठाउने ठाउँ रहेको स्वीकार गर्दै विगतदेखिका राजनीतिक मतभेदलाई व्यक्तिगत सम्बन्धसँग जोड्न नहुने बताए।

बैठकमा थापाले भदौ २४ को जेनजी आन्दोलनसँग सम्बन्धित एउटा भिडियोप्रति पनि आपत्ति जनाए। थापाका अनुसार भिडियोमा एक बालकले देउवालाई उनको घर थापाले जलाएका हुन् कि भनेर सोध्दा देउवाले टाउको हल्लाएका थिए। थापाले त्यसलाई आफूमाथिको आरोपमा देउवाको सहमतिका रूपमा बुझेको बताए।

नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिका र पाँच पटक प्रधानमन्त्री भएको अनुभव स्मरण गराउँदै थापाले उनीबाट त्यही कदअनुरूपको अभिव्यक्षा राखेको बताए। ‘असहमति पनि राजनीतिक हुनुपर्छ र त्यसलाई एउटा सीमाभित्र राख्नुपर्छ, मर्यादाभित्र राख्नुपर्छ,’ उनले भने।

थापाले कांग्रेसको चुनाव चिह्न र आधिकारिकताबारे अन्योलमा नपर्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे। विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग पार्टीमा उनीहरूले सम्हाल्न सक्ने जिम्मेवारीबारे छलफल गर्न नेतृत्व तयार रहेको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button