दसैँको बजार ताक्दै हिमाली भेडाच्याङ्ग्रा, किसानलाई बिक्रीको चिन्ता

ड्रागन मिडिया सम्वाददाता
मुगु, डोल्पा र मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर बजार झरेका किसानलाई यसपालि यात्राको कठिनाइसँगै समयमै बिक्री हुने हो कि होइन भन्ने चिन्ता थपिएको छ। प्रतिकूल मौसम, हिमपात र बाढीपहिरोले सडक अवरुद्ध हुँदा बजार पुग्न ढिलाइ भएको छ भने ढुवानी र खरिदबिक्रीको खर्च पनि बढेको छ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय विक चार जना किसानको टोलीसहित ३६ दिनको पैदल यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे। टोलीले दुई सय भेडा ल्याएको छ—एक सय आफ्नै र एक सय छिमेकीबाट खरिद गरिएका। दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू भदौ १८ गते घरबाट हिँडेका थिए।
डोल्पाको छार्कामा हिमपात भएपछि टोली एक साता रोकिएको थियो। मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पनि यात्रा लम्बिएको विकले बताए। शनिबार भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने योजना भए पनि बजारमा माग कस्तो हुन्छ र समयमै बिक्री होला कि नहोला भन्ने चिन्ता उनलाई छ।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायाको सात जनाको टोली सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ जाँदै छ। घरबाट हिँडेको २२ दिन भइसकेको टोली शुक्रबार घोडेपानी हुँदै अघि बढेको थियो। त्यस्तै, काइकेकै सञ्जय बुढा २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्रीका लागि पोखरा लैजाँदै छन्। चार हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा पालिएका च्याङ्ग्रा भिर, खोल्सा र साँघुरा बाटो हुँदै बजारसम्म ल्याउनुपर्ने किसानको भनाइ छ।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध पारेको थियो। सडक अवरुद्ध हुँदा पशु हिँडाएर ल्याउने र सवारीसाधनबाट ढुवानी गर्ने दुवै काम प्रभावित भए। डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए।
अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजारको अनुमति दिइएको थियो। तातोपानी र रसुवा नाका बन्द रहेकाले ठूला सहरमा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ। जोमसोममा स्वास्थ्य परीक्षणपछि भेडाच्याङ्ग्रा पोखरा र काठमाडौंलगायत सहर पठाउन थालिएको छ।
सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्न र पशु खरिद गर्नसमेत कठिन भएको व्यापारीले बताएका छन्। बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार सम्पर्क अवरुद्ध हुँदा आफूले चाहेजति भेडाच्याङ्ग्रा खरिद गर्न पाएनन्।
व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा बिक्री भइरहेका छन्। बेनीमा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको ४५ हजार रुपैयाँ पुगेको स्थानीय व्यापारी यामबहादुर बानियाँले बताए। पोखरा र काठमाडौं मुस्ताङी भेडाच्याङ्ग्राका मुख्य बजार हुन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि माग रहेको व्यापारी प्रेम छन्त्यालले बताए।
मुस्ताङका किसानका लागि च्याङ्ग्रापालन मुख्य आम्दानीको स्रोत हो। नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार उपल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। तिनको भुवाबाट पस्मिनाका लागि कच्चा पदार्थ उत्पादन हुन्छ।
हिउँचितुवा र ब्वाँसोको आक्रमण, घाँसको अभाव र कठोर हिमपातले पशुपालन कठिन बनाएको किसान बताउँछन्। दसैँको व्यापारबाट वर्षभरिको खर्च जुटाउने उनीहरूका लागि यसपालि लामो यात्रा र बजार पुग्न भएको ढिलाइले आम्दानी अनिश्चित बनाएको छ।





