डीएनए प्रतिवेदनको प्रतीक्षामै बित्यो भोटेकोशी विपद्का पीडितको दशैं

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी विपद्मा आफन्त बेपत्ता भएका परिवारले डीएनए परीक्षणको प्रतिवेदन नआउँदा यस वर्षको दशैं अनिश्चिततामै बिताएका छन्। नेपालगञ्ज–२० थपुवाका अनलाल रोकायका दाजु शेरसिंह, भाउजु विष्णुमती र भतिज दीपक बाढीमा बेपत्ता भएको दुई महिना पुग्दा पनि उनीहरूको अवस्था खुलेको छैन।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत शेरसिंह र विष्णुमतीलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय दीपक पनि बाढीमा हराएका थिए। उनीहरू जीवितै फर्कने आशा क्षीण हुँदै गए पनि शवसमेत फेला नपर्दा परिवारले सामाजिक संस्कार गर्न नसकेको अनलालले बताए। शव पहिचानका लागि भेरी अस्पतालमा नमुना दिएका उनले परीक्षणको प्रतिवेदन र बेपत्ता आफन्तको अवस्थाबारे सरकारले आधिकारिक जानकारी दिनुपर्ने माग गरे।
त्यही बाढीमा रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता छन्। उनीहरूका १६ वर्षीय छोरा सुभाष, ११ वर्षीय अश्विन र नौ वर्षीया स्मारिका आमाबुबा फर्किने आशामा पर्खिरहेका छन्। नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बालबालिकाको पालनपोषण र शिक्षाका लागि सहयोग जुटाउन समन्वय भइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार नेपालगञ्जका १६ जना आफन्तको डीएनए नमुना भेरी अस्पतालमा सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। अन्य आफन्तका नमुना काठमाडौँ र चितवनका अस्पतालमा सङ्कलन गरिएको छ। पहिचानका लागि बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीको रगतको नमुना पठाइएको उनले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव पहिचान गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको उद्धार गरिएको छ।





