अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने

ड्रागन मिडिया सम्वाददाता
नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।
गृह मन्त्रालयले यससम्बन्धी परिपत्र जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेको छ। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा लिनुपर्ने वा अन्य कारणले प्रतिलिपि आवश्यक परेको अवस्थामा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने जनाएको छ।
काठमाडौं उपत्यकामा बाहिरी जिल्लाका सेवाग्राहीको चाप बढ्न सक्ने भएकाले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा दिने व्यवस्था गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा पाउनेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा पाउनेछन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग मिलेमा प्रतिलिपि जारी गरिनेछ।
अभिलेख नमिलेमा, पुरानो नागरिकतामा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा वा नागरिकता पहिलो दृष्टिमै शङ्कास्पद देखिएमा भने नागरिकता लिएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।





