छुटपुर्जीका भरमा भारतीय गाडी नेपालमै, तस्करीमा प्रयोग भएको आशङ्का

ड्रागन मिडिया सम्वाददाता
विराटनगर नाकाबाट अस्थायी पैठारी अनुमति लिएर नेपाल भित्रिएका भारतीय नम्बर प्लेटका केही गाडी नेपालमै राखेर तस्करीमा प्रयोग भइरहेको आशङ्का गरिएको छ। सुरक्षा निकायका अनुसार मोरङमा मात्रै भन्सार सुविधाको दुरुपयोग गरी नेपालमा चलाइएका यस्ता सवारीसाधन पाँच सय हाराहारीमा छन्।
गत असोज ३१ गते विराटनगर–१८ स्थित मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कार शङ्कास्पद अवस्थामा देखेको थियो। रोक्न खोज्दा चालकले गाडी नरोकी भागे। पछि उक्त कार विराटनगर भन्सार कार्यालयको पहिलो ढाट नजिक भेटियो। प्रहरीका अनुसार गाडी नेपालतर्फबाटै भन्सार ढाटमा पुगेको थियो र चालकले भारतबाट भर्खरै आएको देखाएर अस्थायी पैठारी अनुमति लिन खोजेका थिए।
सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिन खोज्दा चालक चाबी लिएर फरार भए। त्यसपछि अवैध क्यारिङ तथा तस्करीमा संलग्न रहेको आरोप लागेका सुरेशकुमार यादव र सबरुन खातुनले पत्रकार सम्मेलन गरी आफूहरूले वैध भन्सार सुविधा लिएर चलाएको गाडी प्रहरीले नियन्त्रणमा लिएको र नौ दिनसम्म दुःख दिएको आरोप लगाए।
तर भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ बटालियनले पठाएको पत्रमा उक्त गाडी असोज ३१ गते भारतबाट नेपालतर्फ प्रवेश नगरेको उल्लेख छ। जोगबनीस्थित सीमा जाँच चौकीले सशस्त्र प्रहरीलाई पठाएको पत्रमा गाडी भारतबाट नेपाल नआएको पुष्टि गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार भन्सारका केही कर्मचारीसँग मिलेमतो गरेर गाडी नेपालमै राखी कागजमा मात्र प्रवेश देखाउने गरिएको आशङ्का छ। उनले भन्सारमा कागजात दिएपछि गाडी वास्तवमै बाहिर छ कि छैन भनेर जाँच्ने प्रविधि र अभ्यास दुवै कमजोर रहेको बताए।
“गाडी कहिल्यै भारत जाँदैन, नेपालमै हुन्छ। तर छुटपुर्जी लिएपछि हरेक दिन कागज काट्ने गरिएको छ,” ती अधिकारीले भने। फोनकै आधारमा भन्सार छुटपुर्जी जारी गरिएको हो कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अर्को सुरक्षा अधिकारीले बताए।
सशस्त्र प्रहरी मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीका अनुसार उक्त गाडी भारतबाट नेपाल प्रवेश गरेको अभिलेख एसएसबीको इन्ट्री बुकमा छैन। एसएसबीले त्यस दिन गाडी प्रवेश नगरेको पुष्टि गर्ने पत्र पनि पठाएको उनले बताए।
प्रहरीका अनुसार गाडी कपडा र खाद्यान्न तस्करीमा प्रयोग हुँदै आएको थियो। सुरक्षा अधिकारीले गाडी नेपालमै रहेको सीसीटीभी दृश्यसमेत आफूसँग भएको दाबी गरेका छन्। एसएसबीको पत्र र सीसीटीभी फुटेज प्राप्त भएपछि सशस्त्र प्रहरीले सोमबार राति गाडीको लक तोडेर विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। चालकले चाबी लुकाएकाले लक तोड्नुपरेको प्रहरीको भनाइ छ। गाडीको मूल्य ७० देखि ८० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।
विराटनगर भन्सार कार्यालयका अधिकृत भीमराज आङदम्बेले प्रमुख भन्सार अधिकृत बिदाबाट फर्केपछि कानुनी प्रक्रिया अघि बढ्ने बताए।
सशस्त्र प्रहरी मोरङका प्रमुख भण्डारीका अनुसार खुला सीमाको फाइदा उठाउँदै भन्सार सुविधामा ल्याइएका र नेपालमै राखिएका गाडी अवैध सामानसँगै लागुऔषध ओसारपसारमा पनि प्रयोग हुन सक्ने भएकाले सुरक्षा चुनौती बनेका छन्। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अस्थायी पैठारी अनुमति लिएर आएका गाडी नेपालमै पार्किङ गरी राख्न नपाइने बताए। अनुमति अवधि सकिएपछि छुटपुर्जी लिएर गाडी भारत फर्काउनुपर्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कबित कटुवालका अनुसार मंगलबार विराटनगर–४ नहरचोकबाट भारतीय नम्बर प्लेटको स्कार्पियो नियन्त्रणमा लिइएको थियो। प्रहरी देखेपछि चालक भागेका थिए। यसअघि विराटनगर–१४ का ओम साहको घरबाट पनि भारतीय नम्बर प्लेटका स्कार्पियो र केटीएम ड्युक मोटरसाइकल बरामद गरिएको थियो। ती सवारीसाधनका कागजात भन्सारमा पेस हुन नसकेको प्रहरीले जनाएको छ।
यादव यसअघि पनि तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीमा परेका थिए। गत भदौ ३ गते सशस्त्र प्रहरीको टोलीले विराटनगर–१४ स्थित उनको घरबाट तीन लाख ३८ हजार रुपैयाँ बराबरको अवैध रजनीगन्धा र लत्ताकपडा बरामद गरेको थियो। भन्सारमा धरौटी बुझाएपछि उनी भदौ ६ गते छुटेका थिए। अहिले उनका आफन्त मोहम्मद हाजरत अलीको नाममा रहेको भारतीय कार तस्करीमा प्रयोग भएको खुलेको प्रहरीको दाबी छ।
यातायात कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा पटके कर र रुट परमिटबाट २१ लाख ६४ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। तर नेपालमा अवैध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका गाडीको यकिन तथ्याङ्क व्यवस्थित हुन सकेको छैन।





