१२ कार्तिक २०८३, बुधबार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

ड्रागन मिडिया सम्वाददाता

चितवनको धान जोनमा यस वर्ष गत वर्षको तुलनामा पाँच हजार मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरिएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्ष धान जोनको आठ हजार पाँच सय हेक्टरमा ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उनले बताए।

“क्रप कटिङ गर्दा उत्पादन ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरेका छौँ,” विश्वकर्माले भने।

पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिका धान जोनमा समेटिएका छन्। त्यहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार र सावित्रीलगायत जातका धान रोपिएको छ।

धान जोनमा खैरहनी नगरपालिकाका वडा नम्बर ५ देखि ७ र ९ देखि १३, राप्तीका वडा नम्बर १ देखि ४ र ६ तथा रत्ननगरका वडा नम्बर ३ देखि ९ सम्मका धानखेती हुने क्षेत्र समेटिएका छन्। जोनमा कृषि समूह र फार्महरू पनि सहभागी छन्।

जिल्लाको समग्र धान उत्पादनको विवरण आउन बाँकी छ। कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार जिल्लाभर अहिले क्रप कटिङ भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button