बागमती प्रदेशमा दसैँका बेला दुर्घटना घटे, मृत्यु बढ्यो

ड्रागन मिडिया सम्वाददाता
यस वर्ष विजयादशमीका बेला बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटना घटे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।
गत वर्ष सोही अवधिमा १३५ वटा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा गत वर्ष ३३२ जना घाइते भएका थिए भने यस वर्ष २९३ जना घाइते भएका छन्।
सारुका अनुसार यस वर्ष चाडपर्वका बेला सिन्धुलीमा भएको सुमो दुर्घटनामा ठूलो क्षति भयो। उक्त दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन्। दसैँ अवधिमा सबैभन्दा धेरै दुर्घटना काभ्रेपलाञ्चोकमा भएका छन्।
यस वर्ष दसैँका बेला मोटरसाइकलबाट ९८ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा आठ जनाको मृत्यु भएको सारुले बताए। उनका अनुसार मोटरसाइकल दुर्घटनाको जोखिम बढ्दै गएको छ।





